logo-img

कोशी प्रदेश : अब दलको ह्विप नलाग्ने, यसरी हुन्छ सरकार गठन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएसँगै सो प्रदेशमा अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन हुने भएको छ। यस प्रावधानअनुसार प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न पाउनेछ । 

यो प्रावधानअनुसार सरकार गठनका लागि कुनै पनि दलले आफ्ना सांसदलाई ह्विप लगाउन पाउने छैन । यदि यो व्यवस्थाबमोजिम समेत सरकार बन्न नसकेको अवस्थामा प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ ।  

शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि विपक्षी मोर्चाले गठबन्धनबाटै सरकार बनाउने तयारी गरेको हो । नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरेका छन्। गठबन्धनभित्रका दुई दलका नेताहरूले आ–आफ्नो दाबी अघि सारे पनि सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन। 



पूर्व मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफूले यसअघि दुईपटक मुख्यमन्त्री बन्ने मौका त पाए पनि काम गर्ने अवसर नपाएकाले पुनः दाबी रहने बताएक छन् । यद्यपि,  गठबन्धनका शीर्ष नेताहरूले गर्ने निर्णयमा आफ्नो सहमति रहने उनले बताए । 

माओवादीका संसदीय दलका नेता इन्द्र आङ्बोले भने कांग्रेसले यसअघि दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाए पनि बहुमत सिद्ध गर्न नसकेकाले अबको नेतृत्वमा माओवादीको दाबी रहने बताएका छन्। माओवादीको नेतृत्वमा सरकार बन्दा बहुमत जुटाउन सजिलो हुने उनको विश्वास छ । 

कोशी प्रदेश एक साताभित्र सरकार गठनको आह्वान



यसैबीच, कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन् । 

कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार २१:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया