हमास नेतासँग इरानका राष्ट्रपतिको वार्ता, के भयो कुराकानी ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजराइलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग आइतबार कुराकानी गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।  

‘राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल–नखालाह र हमासको राजनीतिक ब्युरो प्रमुख इस्माल हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गर्नुभएको छ,’ थप विवरण केही उल्लेख नगरी सरकारी समाचार समिति इर्नाले भनेको छ । 

गाजापट्टीलाई नियन्त्रण गरेको हमासका लडाकुहरूले शनिबार बिहानै इजराइलमा व्यापक रकेट हमला गर्दै घुसपैठ गरेका थिए । इजराइल सरकारले दशकयताकै भएको सबैभन्दा खराब लडाइँमा छ सयभन्दा बढी इजराइली मारिएको र हमासले एक सयभन्दा  बढीलाई बन्धक बनाएको बताएको छ । गाजामा पनि कम्तीमा तीन सय १३ मारिएको समाचार छ । 

इरानले प्यालेस्टिनी आक्रमणलाई ‘गौरवशाली कारबाही’ र ‘ठूलो विजय’ भन्दै प्रशंसा गरेको छ । ‘यो विजयी कारबाहीले यहुदीहरूको शासनको पतनलाई सहजता र गति दिनेछ तथा यहुदीहरूको आसन्न विनाशलाई पूरा गर्ने प्रतिज्ञा गर्दछ,’ इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार अली अकबर भेलायतीले भने, ‘म यो विशाल र रणनीतिक विजयलाई शुभकामना दिन्छु जुन यस क्षेत्रका सबै सम्झौता गर्नेहरूका लागि गम्भीर चेतावनी हो ।’

इरानले गत जुनमा हमास र इस्लामिक जिहादका नेताहरुको वार्ताको आयोजना गरेको थियो । त्यतिबेला इरानी राष्ट्रपति रइसीले अधिनस्थ क्षेत्रहरू मुक्त गर्न खोज्ने युवा प्यालेस्टिनीहरूलाई निरुत्साहित गर्ने उद्देश्यले इजराइलले धेरै अरब र मुस्लिम देशसँगको सम्बन्धलाई सामान्यीकरण गर्न खोजिरहेको बताए । 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार २१:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया