थप एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

निजी  क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयरको २६ वर्षे उडान यात्रामा दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

हाल तीनवटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाजमार्फत सेवा दिइरहेको बुद्ध एयरले यही अक्टोबरभित्रै अर्को एउटा एटीआर जहाज भित्र्याउन लागेको छ । योसँगै कम्पनीको जहाज सङ्ख्या १७ पुग्ने छ ।

वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकताअनुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए ।

जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्याङ्गर छ, जुन दक्षिण पूर्वी एसियाकै उत्कृष्टमध्ये एकमा पर्छ । जहाँबाट स्वदेशी तथा विदेशी कम्पनीले पनि सेवा लिइरहेका छन् ।

बुद्ध एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने मन्त्रका साथ विभिन्न गन्तव्यमा उडान सङ्ख्या अभिवृद्धि गरेको छ । कम्पनीले पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ । यसबाहेकका गन्तव्यहरूमा पनि आधा दर्जनभन्दा बढी उडान गरिरहेको छ । सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि बिस्तारै उडान सङ्ख्या थप्ने कम्पनीले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १२:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया