logo-img

नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुस्त : पाँच वर्षमा ४१ प्रतिशत मात्र प्रगति
फाइल तस्बिर

नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । 

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि ८ चैत २०७५ मा शिलान्यास गरिएको सडकको पटकपटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो । 

गत २०७९ साउन मा आयोजनाको म्याद सकिएपछि एक वर्षको समय पाएको निर्माण कम्पनीले थपिएको म्याद सकिँदा आयोजनाको भौतिक प्रगति मात्रै १८ प्रतिशत थियो । थपिएको एक वर्षमा पनि आयोजनाले अपेक्षित गति लिन नसकेको टिप्पणी भइरहेको छ । 



म्याद थपिएको एक वर्ष समय सकिँदासम्म आयोजनाको प्रगति मात्रै ३८ प्रतिशत पुगेको थियो । थपिएको समयमा पनि काम नसकिएपछि ११ असोज २०८० बाट लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ ।

गत भदौ ११ गते तेस्रो पटक म्याद थपिएको एक महिनाको समयमा तीन प्रतिशत काम सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताए ।  

‘पूर्वी खण्डमा कामदार प्राविधिक गरेर दैनिक पाँच सय ९५ जना ले अहिले काम गरिरहेका  छन् भने १३ वटा स्काभेटर, सात  ग्रेडर, ११ वटा लोडर, चार वटा क्रेन २८ टिपर, १० पानी बोक्ने ट्याङ्की तथा पाँच कङ्क्रिट बोक्ने गाडीले नियमित काम गरिरहेका छन्,’ उनले भने, ‘थप गरिएको समयमा काम सम्पन्न गर्ने गरी निर्माणलाई अगाडि बढाइएको छ ।’



आयोजनाले सडक कालोपत्रे गर्नेकामलाई समेत निरन्तरता दिएको आयोजना व्यवस्थापक झाले बताए । उनका अनुसार अहिलेसम्म पूर्वी खण्डमा १६ किमी बाटो कालोपत्रे गरिएको छ ।  

पूर्वी खण्डमा भएका साना पुलको काम सकिनुका साथै १२  ठूला पुलमध्ये ११ को सब स्ट्रक्चरको काम सकिएको सडक आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर धीरज ढकालले बताए ।  



चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।  

सडक वस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गकोे विस्तार सुरु गरिएको हो । 

लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि ८ चैत २०७५ मा बुटवल नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो । रासस 

  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार ११:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया