पुस्तक अंश : अनौठो यात्रा

चौगाउँमा अरविन्दलाई फेरि छटपटी हुन थालेको थियो । प्रदीप र लावण्यहरू थिएनन्, अजय दम्पती विद्यालयमा पढाउने र त्यसपछि ट्युसन पढाउने काममा व्यस्त रहन्थे । रणजी खर्क (गाईगोठ) तिर बस्न गएका थिए । कवि केशर पनि गाउँ छाडी दार्चुला हिँडिसकेको थियो  । वीरेन्द्र र धिरज पनि अध्यापनको तालिमका लागि काठमाडौं गइसकेका थिए । यो भन्दा पनि झन् दिक्क लाग्ने कुरो घोडालाई लिएर आमाले एकतारै गर्ने गरेको कचकच थियो । 

उनी “भैँसीलाई घास दाना राम्ररी दिन सकिएको छैन,यो सपूत घोडा लिएर आयो” भन्थिन् । “घोडा चढ्न त कि पुख्तवाल (धनी) हुनुपर्यो कि भलाद्मी, तँ जस्तो बेकम्मा मानिसले किन दैलोमा घोडा बाँधिराखेको होला” भन्थिन् । यस्तै कचकचले गर्दा पनि अरविन्द एक दिन बिहान आफू खाना खाई घोडालाई पनि टन्न दाना घाँस खुवाएपछि आमालाई ढोगेर सुरू सुरू बाटो लाग्यो । 

आमा र छोरा बीच स्नेह थियो । यसैले ठट्टा पनि चल्थ्यो । आमाले आज भन्या भन्या थोक खान दिएकाले छोराले ढोगेको होला भन्ठानी मुस्किई बसिरहिन् । अरविन्द केही हिँडे पछि घोडामा चढ्यो अनि कहाँ जाने ? भन्ने प्रश्न खडा भयो । ऊ कतै जान भनी निस्केको थिएन यसर्थ बडो विचार गरेपछि उसले समाधान निकाल्यो कि जता घोडाले लग्यो त्यतै जाने । यस्तो मनसायले अलिक अगाडि बढेपछि उसलाई बडो आनन्द लाग्यो । 

अब उसले गर्नुपर्ने केही थिएन । कुनै कुरोको चिन्ता लिनुपर्ने र डर मान्नुपर्ने पनि थिएन । अहो घोडाले जता लग्यो त्यतै जाने, खाना पाइएको ठाउँमा खाने, वास पाइएको ठाउँमा वास बस्ने; उसलाई लाग्यो कि ऊ संसारभरिमा सबैभन्दा बढी स्वतन्त्र र चिन्तारहित व्यक्ति थियो । अरविन्द घोडाले जुन बाटो जान खोज्थ्यो त्यही बाटो जान दिन्थ्यो । घोडा ठम्म उभिँदा ओर्लेर विश्राम गथ्र्यो अनि उसले मुखबाट फुरफुर गरेको स्वर निकालेपछि त्यसलाई हिँड्ने संकेत ठानी घोडामा चढ्थ्यो । बाटोमा भेटिने परिचित वा इष्टमित्रहरूमध्ये कसैलाई दाजुभाइहरूको लागि कन्या खोज्न हिँडेको अथवा कुनै इष्टमित्रलाई भेट्न हिँडेको भनी कुरो टुंग्याउँथ्यो ।

घोडा दार्चुलाको सदरमुकाम हुँदै बृजेश्वर धामको मेलामा ल्याइएको हुँदा ऊ त्यही बाटो फिर्ने गरी हिँड्दै थियो । बिस्तारै हिँड्दा दोस्रो वासपछिको बिहान ७ बजेतिर अरविन्द एक रमाइलो ठाउँमा आइपुग्यो । खेतका कनाला (इल्चा) छँदै छैन भने जस्ता रमाइला खेतहरूको माथि अलि अग्लो ठाउँमा कमेरो र रातो माटोले छिपेका र पडा (स्लेट)हरूले छापेका घरहरू थिए । २–३ घर त तीन तले पनि थिए । निश्चित नै यो पुगिसरि आएका मानिसहरूको गाउँ थियो, तल्तिर बगर थियो र त्यहाँ ३/४ वटा पसलहरू थिए । पीपलको रूखमुनिको चौतारामा बस्दा उसले ठहर गर्यो कि त्यस ठाउँमा चौलाने नदीमाथि काठेपुल थियो र नदीले त्यसलाई बगाएपछि बरिखामा नदी पार नगरी नहुनेहरूका लागि तुइन राखेको घाट पनि त्यहीँ थियो । 

एकजना राम्रो लुगा पहिरेको, हातमा घडी र खल्तीमा फाउन्टेन पेन राखेको र हेर्दा रुबस घोडचढीलाई चौतारीमा बसेको देखेर पहिले केटाकेटी त्यसपछि पसलेहरू पनि उनको सामुन्ने आए । त्यस बेला घोडामा चढी हिँड्ने मानिसलाई पुख्तवाल (धनी) मानिन्थ्यो र त्यसको सम्मान गरिन्थ्यो । अतः उक्त पसलेलगायत गाउँलेहरू अरविन्द बसेको ठाउँमा झुम्मिनु स्वाभाविक थियो । कुराकानी सुरू भो । 



उसकै दौँतरी जसो लाग्ने एकजना भलाद्मी देखिने मानिस पनि आइपुग्यो, अरविन्द कुनै खास काम नभई त्यसै इष्टमित्रहरूलाई भेट्न जान लागेको भन्ने कुरो थाहा पाएपछि त्यस दौँतरीले उसलाई प्राइमरीबाट भख्खर मिडिल बनाउने भनी कक्षा ६ सञ्चालन गरेको स्कुलमा अध्यापक भई बसिदिन एक किसिमले अनुनय विनय नै गर्यो । अरविन्दले पनि सोच्दै नसोची सो कुरो सकारिहाल्यो । 

यो प्रस्ताव गर्ने भलाद्मीको नाउँ पुष्कलराज थियो र ऊ यस गाउँको तालुकदार पनि थियो । उस्को परिवार छरछिमेकका गाउँहरूमा समेत सौकारको मौउ (परिवार) भनी कहलिएको थियो । 



यस क्रममा एकजना भलाद्मीको पहिरन भएको औँलामा आठ आना जति सुनको औँठी पहिरेको घोडचढी युवकसित उसको शैक्षिक योग्यता बारे सोध्नु नै मूर्खता होला भनी सबैले ठाने । गाउँलेहरू कसैले अरविन्दको शैक्षिक योग्यताबारे सोधेका थिएनन् । यस्को पछाडि अर्को कारण के थियो भने अञ्चल शिक्षा अधिकारी स्कुलहरूको निरीक्षण गर्दै साता दिनभित्रै यहाँ आइपुग्ने खबर थियो । शिक्षकको हकमा कक्षा १ सम्म पियनले पढाउँथ्यो र बाँकी दुई जनामध्ये १ जना मिडिल पास र १ जना मिडिल फेल गरी ३ जना मात्र शिक्षक थिए । यस्तो स्थितिमा शिक्षा अधिकारीले स्कुलको स्वीकृति झिकिदिन सक्थे । त्यसो भएमा केटाकेटीहरूले स्कुलका लागि तीन कोस जति टाढा जानु पथ्र्यो । 

अर्को महत्वपूर्ण कुरो के थियो भने पुष्कलराजले बाबुको शेषपछि भर्खर तालुकदारीमा बहाली लिएको थियो । उस्को नामी भनी कहलिएका बाबुले चलाएको स्कुल उस्को पालामा खारेज हुँदा पुष्कलको धेरै बदनामी हुन्थ्यो । यस कारण पनि कुनै खोजनिती नगरी अरविन्दलाई तुरुन्त हेडमास्टरमा नियुक्त गरी उनको बस्ने खाने व्यवस्थासमेत पुष्कलराजकै पाहुना घरमा गरिएको थियो ।

राति सुत्ने बेला अरविन्दलाई हाँसो उठ्यो र कता कता ग्लानि पनि भो । आफ्नो योग्यता बारे साँचो कुरा बताउनु पथ्र्यो भन्ने उसलाई लाग्यो । फेरि सोच्यो जहाँ पियन र मिडिल फेल गरेका शिक्षकहरूले पढाउँछन् त्यहाँ मिडिल पासले पढाउन भइहाल्छ नि । मिडिल पास गर्दा राम्रै नम्बर ल्याएको थियो र बम्बई गएर अंग्रेजी पढी राम्रो ज्ञान हासिल गरेको थियो । उसलाई कक्षा ६ मा पढाउन गाह्रो पर्ने वाला थिएन । 

मानिसहरूले उसलाई निकै शिक्षित मानेका छन्, कुरो खुल्दा अलि बदनामी हुन्छ कि भनी डर लाग्यो अनि यो ईश्वरको इच्छा हो भनी सोच्दा सोच्दै यो त ईश्वरको होइन कि यहाँ पुग्नु ता घोडाको इच्छा हो भनी ऊ एक्लै हाँस्यो । 

उसको हेडमास्टरगिरी चल्न थालेको थियो । एउटै डर अञ्चल शिक्षा अधिकारी चाँडै आइपुग्ने कुराको थियो । अञ्चल शिक्षा अधिकारी को थियो कुन्नि, चन्दनपुर (चौगाउँमा) २/३ चोटि स्कुल निरीक्षणमा आएका यादवजीको यहीँ थमौती भएको भए त उनीसँग अरविन्दको राम्रै हिमचिम थियो । यादवजी मीठो खाना त्यसमा पनि खसीको कबाव खान अनि अंग्रेजीमा कुरा गर्न र हाँसोठट्टा गर्न मन पराउँथे । उनी चन्दनपुरमा आएको बेला गाउँलेहरूले खसी ढाल्थे भने अरविन्दले रमाइला गफहरू गरी उनीलाई दंग पाथ्र्यो । यहाँ आउने यादवजी नै होऊन् भनी उसले प्रार्थना पनि गर्यो तर फेरि झस्क्यो । उसले यादवजीसित गफ गर्दा आफूलाई ६ पास  ७ फेल भनी गफ गरेको कुरो यादवजीले सरिखेको हुन पनि सक्थ्यो । 

जे भए पनि यादवजी सरकारी अफिसर थिए, प्रमाणपत्र माग्न सक्थे । मिडिल स्कुलमा हेडमास्टर त के मास्टर हुन पनि कक्षा १० पास हुनुपर्ने नियम भएको बेला मिडिल पासको प्रमाणपत्रले काम दिँदैनथ्यो र उनको फजिती हुन सक्थ्यो । यस्तो परिस्थितिको सामना कसरी गर्ने भनी विचार गरिरहेको बेला यादवजी झुल्किए । प्रसन्न भई अरविन्दसित “ए तपाईं पनि यहाँ” भन्दै हात मिलाए । ३ वर्ष अगाडि चौगाउँमा भेट हुँदा भए गरेका कुराहरू सम्झी पेट मिचीमिची हाँस्न थाले । यादवजीलाई आफू अंग्रेजीको विद्वान् भएको घमण्ड थियो । त्यसलाई प्रदर्शित गर्न पश्चिम बेनम्बरमा मानिस नै भेटिन्नथ्यो । उनले अरविन्दसित अंग्रेजीमा कुरा थाले । 

अरविन्दले पनि सजिलैसित त्यसै भाषामा जवाफ दिहरह्यो र त्यस साँझ त्यहाँ उपस्थित (भद्रभलाद्मी) र गाउँलेहरू दत्तचित्त र मुग्ध भई आफूले नबुझ्ने अंग्रेजीमा भएको वार्तालाप सुनिरहे । त्यस राति झरी पर्न थाल्यो र २ दिनसम्म रोकिएन । यस बीच गाउँलेहरूले खसी ढाले । अरविन्दले मस्तराम, रतने, दुम्सीसापहरूका बारे मनगढन्ते घटनाहरू सुनाई यादवजीलाई दंग पार्यो । अनि निरीक्षण त खानापूर्तिका लागि भयो, निरीक्षण पत्रिकामा उत्साहजनक कुरो लेखी यादवजी बिदा भए । उच्च अधिकारीको मित्र र फरर अंग्रेजी बोल्न सक्ने व्यक्ति भनी गाउँसमाजमा अरविन्दको सम्मान बढ्यो । अब मिडिल स्कुल स्वीकृतिमा बाधा नआउने कुरोमा विश्वस्त भई पुष्कलराजले उसप्रति आभार प्रकट गर्यो ।

अरविन्द हेडमास्टर थियो । यसबीच उसको घोडा पनि राम्रै मोलमा बेचिएको थियो । ऊ धरमपुरमा पुष्कलराजको पाहुना घरमा बस्थ्यो र उसकै भान्सामा खान्थ्यो पनि । केही समयपछि त्यस भान्सामा खानेहरूको संख्यामा एक अंक थपियो । त्यो पुष्कलकी बिहे गरिदिइसकेकी आफ्नै बहिनी मालिनी थिई । यस भेगमा ठकुरीहरू बाहेक अन्य केटीहरूको बिहे सानै उमेरमा गर्ने चलन थियो । कन्याहरू बिहेपछि पनि माइतीमा नै बस्थे र रजस्वला हुने उमेर पुगेपछि मात्र पोइलीको घरमा बडीजस्तो बस्ने गर्थे । 

मालिनीको उमेर १६ वर्षको थियो, गोरो रंग अनुहार र जिउको काँठी मिलेको, विधाताले उसलाई बनाउन प्रयोगमा आएको धातुलाई खुब ठोकपिट गरी साँचोमा ढलान गरेपछि मात्र बनाएको हो कि जस्तो लाग्थ्यो । पुष्कलकी बहिनी भएकाले उसप्रति अरविन्दको पनि स्नेहभाव थियो । ऊ भने अरविन्दको अलि बढी नै वास्ता राख्थी । उसलाई खाना पस्किने बेला कुनै त्रुटि नहोस् भनी हेरिरहन्थी ।

मालिनीको पोइल घर नदीपारि पाँच कोस जति टाढा थियो, बिहान खाईवरी जाँदा साँझतिर मजाले पुगिन्थ्यो । मालिनी पोइल भन्दा बढी माइतीमा बस्थी । यसैले केहीले आलोचना गर्दै भन्थे कि पोइलीको हैसियत माइतीभन्दा जुन हिसाबले हेर्दा पनि तल पथ्र्यो, यसैले पोइली हेपिएको थियो । अरू कुरामा त होइन तर पोइलीले बोलाउन आउँदा र मालिनीको जानेमन नहुँदा कहिलेकाहीँ पोइली त्यसै फर्किन्थ्यो र मानिसहरू कुरा काट्ने मौका पाउँथे । 

एक्ली माया गरेकी बहिनीलाई “जाऊ बैनी जाऊ” भन्नु बाहेक पुष्कलले बढी कर गर्न सक्तैनथ्यो । अब रह्यो आमाको कुरा, त्यो त संसारभरिका आमाहरूको मन उनका छोरा होस् वा छोरी संसारै त्यागी उनीहरूकै छेउमा बसिरहून् भन्ने मात्र हुन्छ । मालिनीकी आमा अपवाद थिइनन् ।

अरविन्द पौडी खेल्न जान्दैनथ्यो तर उसले बिदाको दिन खाना खानुभन्दा अगाडि पानी खेल्ने एउटा ठाउँ फेला पारेको थियो । नदीले कटान गरेको भिरालो भिरालो बगरबाट तल झरेपछि नदीबाट आएको एउटा सानो धाराले तलाउ बनाएको थियो, त्यसको निकास पनि सानो धाराको रूपमा गई फेरि नदीमा नै मिसिन्थ्यो । त्यस एकलास जस्तो ठाउँमा तलाउको बीचमा दुई तीन ठूलठूला ढुंगाहरू थिए । तिनको वल्लो छेउतिर पानी कम गहिरो थियो, पल्लोपट्टि भने गहिरो थियो । अरविन्द त्यही ठाउँमा कमरसम्मको पानीमा पसी नुहाउँथ्यो र डुबल्कीसमेत माथ्र्यो । 

एक दिन उसले केही गज तलतिर एक महिलाले नदीमा पौडी खेलिरहेकी देख्यो । अनुहार चिन्न नसके पनि ऊ त्यस्को पौडी खेल्ने सीपबाट प्रभावित भई केही बेर ठिङ्ग उभिएर त्यतापट्टि हेरिरह्यो । एकछिन पछि हातमा पहिरने लुगा समाती त्यो युवती ऊतर्फ नै आइरहेकी देखापरी । उसलाई कौतूहल पनि भयो र संकोच पनि । दुरी कम हुँदा अरविन्दले चिन्यो, त्यो मालिनी थिई । त्यसले स्तनभन्दा अलि माथि पेटीकोट बाँधेकी थिई र हुन सक्थ्यो अरविन्दलाई चिनेर नै आएकी थिई । 

नगिच पुगेपछि हाँस्दै त्यसले भनी, “के काँतर जस्तै पोखरीको छेउमा पौडी खेल्दै हुनुहुन्छ ?” अरविन्दले भन्यो, “म पौडी खेल्न जान्दिनँ ।” “म सिकाउँछु” भन्दै उसलाई तानेर तलाउको गहिरो भागमा लगी । अरविन्दले अकमकिएर हात छोडाउन सकेन अनि गहिरो पानीमा पुगेपछि त ऊसित विकल्प नै थिएन । कि पानीभित्र डुबुल्की खानु पथ्र्यो कि मालिनीले जसरी र जुन अंगको सहारा दियो त्यसलाई समाती हातखुट्टा चलाइरहनु पर्दथ्यो । बाहिर निस्केपछि एउटा ढुंगोको पछिल्तिर गई मालिनीले लुगा फेरी । “पौडी खेल्न जानेपछि धेरै काम लाग्छ, आफ्नो मात्र होइन, अरू बगेर वा डुबेर जान लागेकाहरूको समेत ज्यान बचाउन सकिन्छ” भनी र एक छिन अडी । अनि उसले केही दिनभित्रै तपाईंंलाई पौडी खेल्न सिकाइदिन्छु भनी ।

त्यसपछि ऊ हरेक बिदाको दिन आफै पनि आमन्त्रण दिई अरविन्दलाई पौडी सिकाउन थाली । उसले बोलाएपछि यन्त्रवत् अरविन्द पनि तलाउतिर लागिहाल्थ्यो र बिदाको दिन पर्यो कि तलाउतिर नजाउन्जेल ऊ छटपटिइरहन्थ्यो । तर, उसले यसभन्दा बढी सम्बन्ध नबढाउने भन्ने दृढ निश्चय गरेको थियो । पानीमा उभिँदा र निस्किँदा मालिनीको पोसाक पारदर्शी हुन्थ्यो । एक दिन गहिरो पानीमा लगी उसले अरविन्दलाई छातीमा सुताई पिठको भरमा पौडी समेत खेलेकी थिई । द्विविधाग्रस्त अरविन्द मित्र पुष्कलकी बैनीसित नाजायज सम्बन्ध राखी मित्रसित विश्वासघात गर्ने छैन भन्ने संकल्प मनमनै दोहोर्याइरहन्थ्यो । 

एक दिन पौडी खेल्दा खेल्दै अरविन्दले भन्यो, “कसैले हामीहरूलाई यसरी टाँसिएर पौडी खेलेको देखे के भन्ला ?” 

“के गर्या छौँ र हामीले ? के पौडी सिकाउनु अपराध हो ?” 

नाजवाफ अरविन्दलाई लागेको थियो कि मालिनी एकदमै सुधी युवती हो वा निडर युवती । उसलाई लाग्यो अधिकांश युवतीहरू झैँ मालिनी पनि उसका लागि रहस्य बन्दै गएकी थी । 
एकै छिनपछि मालिनीले हाँस्दै भनी, “यो स्कुल होइन हेडसाप, यहाँ म मास्टर हुँ तपाईं पौडी सिक्ने विद्यार्थी ।” हाँसोको स्वर कतै घण्टी बजे जस्तो खनखनाएको थियो अनि अरविन्द झन् रनभुल्लमा परेका थिए ।

एकरात अरविन्द बत्ती निभाई निदाउन आँटेको थियो । एक जना आइमाई उसको ओछ्यानमा आई बसी, टार्च बाली हेर्दा त त्यो मालिनी रहिछे । अरविन्दको मुटुले ठाउँ छोड्यो डरले र आफ्नै परिवारसरह माया गर्ने पुष्कलको परिवारप्रति हुन सक्ने कृतघ्नतालाई सम्झेर । उसले मालिनीलाई सम्झाउने धेरै कोसिस गर्यो तर उसले ओछ्यानमा पल्टी अँगालो हालिहाली । अरविन्दसित भगवान् शिवजीको जस्तो कामदेवलाई भष्म गर्ने शक्ति थिएन । साँच्चै भन्ने हो भने कामदेवले केही दिनदेखि नै उसको मनको एक कुनालाई लोभ्याइसकेको पनि थियो । अतः उसभित्रको देवता हार्यो र घटित नहुनु पर्ने घटना घटित भइहाल्यो । 

मालिनी गइहाली तर अरविन्दलाई रातभरि निद्रा परेन । आफूले ठूलो पाप गरेको ठानी उसको मन ग्लानिले भरिएर आयो । बिहानसम्म पनि मनोदशामा सुधार नआउँदा उसको अनुहार खस्केको देखिन थाल्यो । पुष्कललगायतले कारण सोद्धा आफूलाई कहिलेकाहीँ उठिरहने अर्ध कपालीले छोपेको र अर्को दिनसम्म आफै ठिक हुने काल्पनिक कुरो उसले बतायो । 
मालिनीले उसको बेरामीको खबर सुनी तर दिनको उज्यालोमा मुख अघिल्तिर पार्न नसकी कान्छी बैनीमार्फत अर्ध कपालीको गाउँले औषधि दिइपठाई । केही दिन मालिनीले उसकहाँ राति आउने क्रम जारी राखी । ऊ आउनासाथ आफू कोठाबाट बाहिर निस्किने अठोट अरविन्द गथ्र्यो तर सदा झैँ हाथ्र्यो पनि । अनि उही पीडा उही ग्लानिले उसको मन पोलिन्थ्यो । यसबीच उसको पोइ उसलाई लिन आएपछि यस पटक भने मालिनी जाने भई । बिदा हुने क्रममा ऊ अरविन्दको कोठामा पसी र यसलाई पढ्नासाथ च्यातिदिनुहोला भनी उसलाई एक खाम थमाई आँखाभरि आँसु काड्दै बिदा भई ।

यस बीच अरविन्दको मनमा मालिनीप्रति थरीथरी विचारहरू आउँथे, कुनै बेला त्यसमाथि रिस उठ्थ्यो भने कुनै बेला त्यस्को माया पनि लाग्दथ्यो । अधिकांशमा उसलाई सम्झिदाँ उसको मनमा कत्ति छाडा आइमाई भनी वितृष्णाको भाव पनि उठिहाल्थ्यो । तर उसले दिएको चिठ्ठी पढेपछि उसको विचार फेरियो । त्यसप्रति एउटो गहिरो टिठ (खन्द्या) लाग्ने भाव मनमा उठ्न थाल्यो ।
उसले लेखेकी थी ऊ माइतीहरूको गर्खा गर्खामा बेइज्जत नहोस् भनेर मात्र पोइलीको घरमा बसेकी थी । अन्यथा उसको पोई नपुंसक थियो र थप बित्थैमा रातभरि सुत्न दिँदैनथ्यो । यो कुरो अरू कसैलाई नभने पनि आमालाई बताएकी थिएँ । आमाले सुन्नेबित्तिकै ठूलठूला आँसु झर्दै भन्नुभएको थियो, “तिमी बाहुनकी छोरी, तिमीले लोग्नेबाट पारपाचुके पाए पनि सामाजिक बन्धनले गर्दा अर्को बिहे गर्न पाउँदिनौ । बाहुन अर्थात् ठूलो जातको घरमा जन्मेकी हुनाले तिमीले त्यसको मोल यस किसिमले तिर्नै पर्दछ अनि तिम्रा लागि कि अहिलेकै घर हो कि माइतीघर हो, माइतीमा पनि धेरै बस्दा मानिसहरू कुरा काट्छन् । यसर्थ आफ्नो भाग्य सम्झीजे छ त्यसैमा सहेर बस ।” 

हामीले राम्ररी दुलाहाबारे खेजीनीति नगरी त्यससित बिहे गरी दिई तिम्रो जिन्दगी नै बिगार्यौ भन्दै आमा निधार चुटीचुटी रुन थाल्नुभएको थियो भनेर पनि मालिनीले लेखेकी थिई । यसका साथै आफूले गरेको अनुचित उच्छृङखलताका लागि तीन ठाउँमा माफी माग्दै आफूले संयम राख्ने धेरै प्रयास गरेकी तर के भएर हो, संयम राख्न नसकेको भनी आफ्नो लाचारी पनि देखाएकी थिई । 

अरविन्दका आँखाभरि आँसु आए । अब दयाकी पात्र ठानी मालिनीलाई माया गर्न थाल्यो । उसलाई लाग्यो कि आफ्नो व्यवहारका लागि मालिनीले लजाउनु पर्ने वा माफी माग्नु पर्ने कुरै उठ्दैनथ्यो, माफी त समाज, जस्को एक अंग ऊ पनि हो, ले माग्नु पर्ने हुन्थ्यो । फोस्रो नाम, बदनाम, इज्जत, बेइज्जतका घेरा बनाइदिएर मालिनी जस्ती कैयन् स्त्री र पुरुषहरूको जीवन नरक पारिदिएकोमा समाजले माफी माग्नुपर्ने थियो । 

उसले एक छिन मालिनीका लागि सारा संसारसित लडेर पनि उसको उद्धार गर्ने निधो गर्यो । त्यससित आफ्नो भावी जीवनको कल्पना पनि गर्न थाल्यो । उसलाई लाग्यो मालिनीलाई अंगीकार गर्नु अब उसको कर्तव्य पनि भइसकेको थियो तर एक्कासि उसले पुष्कलबारे सोच्न थाल्यो । लाग्यो कि यसपछि ऊ पुष्कलका परिवारभरिकै ठूलो घृणाको पात्र हुनेछ र जार कहलिनेछ । ऊ संसारसित भिड्न सक्थ्यो तर पुष्कल र उसको परिवारलाई मुख देखाउन सक्दैनथ्यो । 

स्वयम् उसका आफ्ना दाजुभाइले पनि उसलाई एक कलंकित व्यक्तिको रुपमा हेर्थे भन्ने सोच मनमा आएपछि उसको उत्साह सेलाएर गयो । मालिनीले चिठ्ठीमा आफू २ हप्तापछि फिर्ने कुरो लेखेपछि माया नमार्नुहोला भनेर पनि लेखेकी थिई । अब उसले महसुस गर्यो  कि मालिनीलाई हाकाहाकी लैजानुभन्दा पनि उनीहरूले लुकी लुकी भेट्ने गरेको कुरो खुल्यो भने उसले र उसको परिवारले कतै मुख देखाउने ठाउँ रहने थिएन । पुष्कलको परिवारको हुने बेइज्जतभन्दा दोब्बर उसको परिवारको बेइज्जत हुने वाला थियो । उपाय सोच्दै रातभरि निदाएन । 

बिहानपख मनमा विचार आयो कि अब यहाँबाट हिंड्ने बेला आइसक्यो । त्यसको पर्सिपल्ट आफ्नी आमा सिकिस्त बिरामी परेको खबर आयो भनी ऊ घर फर्किने तरखर गर्न थाल्यो । पुष्कल, उसको परिवार र गाउँलेहरूले आमाको हेरचाह गरेपछि तत्काल फर्केर आउन अनुरोध गर्दा अरविन्दले वचन दियो । यो थाहा पाउँदा पाउँदै कि अब यस वचनको निर्वाह गरी ऊ मालिनीको मायाको कारणले यहाँ फर्किनेवाला थिएन । 

धरमपुरबाट घरतिर हिँड्दा बल्ल उसले त्यस्तै शान्ति महसुस गर्यो जस्तो घोडामा निरुद्देश्य हिँड्दा र यहाँ आइपुग्दा महसुस गरेको थियो । यस शान्तिका दुइटा कारण थिए : पहिलो पुष्कलको परिवारप्रतिको कर्तव्य पालना हुनु र अर्को अब जीवनमा के गर्ने भन्ने योजना वा सोचबाट मुक्त भई आफूलाई फेरि भगवानको भरमा छोड्नु ।

(यो पुस्तक अंश पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रकाशोन्मुख उपन्यास ‘अपराजिता’ बाट लिइएको हो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको यस पुस्तकको भोलि (शुक्रबार) कुञ्ज नाटक घर, थापागाउँमा लोकार्पण हुँदैछ ।) 

  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १६:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया