थन्क्याउने बेलासम्म पनि धानमा लागेन दाना, बर्सेनि किन ठगिँदै छन् किसान ?
‘बिउ छनोटलाई प्राथमिकता दिऔँ’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विगत वर्षमा यतिबेला भकारीभर धान हुन्थ्यो । आफूलाई पुगेर उब्रेको धान बिक्रीबाट पैसा आउँथ्यो । धान बेचेको पैसाले घर खर्चसँगै चार्डपर्व टर्थ्यो । तर, यसपालि न धान फलेको छ, न पैसा आउने आस नै । बाराको निजगढ नगरपालिका–९ का किसान मानबहादुर श्रेष्ठलाई पनि यस्तै चिन्ता सताएको छ । उनको प्रश्न छ, ‘अब के खाएर बाँच्ने ?’

श्रेष्ठले निजगढ-८ मा रहेकाे कृषि एग्रोभेटबाट ‘डेल्टा रानी’ जातको नयाँ बिउ ल्याएर आठ कट्ठामा धान रोपेका थिए । असार पहिलो हप्ता नै रोपेको धान यतिबेला फलि सक्नुपर्ने थियो । तर, रोपेको धानमा एउटा बाला पनि लागेको छैन । धान फल्ला र वर्षभरि खाउँला भन्ने आशामा रोपेको धानमा बाला नलागेपछि यतिबेला श्रेष्ठ चिन्तित छन् । 

‘वर्षभरि खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसेको छ,’ उनी चिन्ता व्यक्त गर्छन्, ‘के खाएर कसरी बाँच्ने होला ? अब परिवारमा चुल्हो बाल्न पनि गाह्रो हुने भयो । घर खर्च कसरी धान्ने ?’ 

हरेक वर्ष श्रेष्ठले ‘शंखर युएस–३१२’ जातको धान रोप्दै आएका थिए । यो वर्ष पनि उनी त्यही जातको धान रोप्ने तरखरमा थिए । तर, उक्त बिउ पाइएन । बिउ वितरकले पनि अन्य जातभन्दा बढी उत्पादन दिन्छ भनेपछि आफूले पनि ‘डेल्टा रानी’ जातको बिउ राखेर धान रोपेको उनी बताउँछन् । श्रेष्ठले प्रतिकेजी २/३ सय तिरेर चार किलो बिउ किनेका थिए । 

‘सधैं अरू नै जातको धान रोप्ने गरेको थिए । योपटक पनि खोजेको तर पाएन,’ उनी बिलौना गर्छन्, ‘बिउ वितरकले डेल्टा रानी जातको बिउ एक नम्बर राम्रो हो । अरूभन्दा धेरै फल्छ भन्यो । मैले पनि पहिलोपटक नयाँ जातको धान लगाउन त भनेर लगाए । अहिले एक दाना पनि नफलेर समस्यामा परियो ।’



चाडपर्वको मुखमा उनले एक गेडा धान पनि भित्र्याउन पाएका छैनन् । अरू वर्ष श्रेष्ठले त्यही खेतबाट २४ क्विन्टल धान भित्र्याउँथे । आठ कट्ठाबाहेक अरू जग्गामा उनले धान लगाएका छैनन् । जसले गर्दा अझ धेरै समस्यामा परेको उनले गुनासो गरे ।

‘सुरुमा बिउ नै नउम्रिएको भए बरु अरू बाली भए पनि लगाउन हुन्थ्यो,’ श्रेष्ठ भन्छन्, ‘बोट निक्कै सप्रिएको छ । अहिले करिब ५ फिट अल्गो छ । एक–दुईवटा बिरुवा रोपेकोमा ४०/५० वटाको गाँज भएको छ । बोट हेर्दा त पहिलाभन्दा दुई गुणा बढी फल्छजस्तो लाग्छ । तर, के गर्नु ? पसाउने बेला घर्किसक्दा एउटै बोटमा पनि बाला लागेको छैन ।’ 



धानमा बाला नलागेर चिन्तामा श्रेष्ठ मात्र होइन, निजगढ–९ का अर्का किसान केदार खत्री पनि छन् । उनले साढे ८ कट्ठा जग्गा लिजमा लिएर ‘डेल्टा रानी जात’ को धान लगाएका थिए । उनको साढे आठ कट्ठा खेतमा पनि एक गेडा धान फलेको छैन । उनले हरेक वर्ष गोरखनाथ जातको धान रोप्थे । तर, यो पटक बिउ वितरकले ‘डेल्टा रानी जात’ को धान पनि गोरखनाथ जस्तै हो, एकदमै राम्रो फल्छ भने पछि नयाँ जातको धान लगाएको खत्री बताउँछन् ।  

‘धेरै फल्छ भनेर ६ प्याकेट धान किनेर लगाएँ, एक दाना पनि फलेन,’ खत्री भन्छन्, ‘अब के खाएर बाँच्ने ? जग्गा भाडा कसरी तिर्ने ? गोरखनाथ नै ल्याएर रोपेको भए वर्षभरी खान पुग्ने थियो । घरखर्च चलाउन पनि पुग्थ्यो । यो धान रोपेर घाँस मात्र हात लाग्यो ।’

उनी यसपालि धानको बिउले धोका दिएकाले यो वर्ष के खाएर जीविकोपार्जन गर्ने भन्ने चिन्तामा छन् । त्यति मात्र होइन मलखाद, बिउविजन र खनजोत गर्दा खत्रीको प्रतिकठ्ठा १०/१२ हजार रुपैयाँभन्दा बढी खर्च पनि भएको छ । ऋण काढेर खेती गरेका उनले अब त्यो ऋण कसरी तिर्ने भन्ने कुराले पनि सताउन थालेको बताए । 

निजगढ नगरपालिकाका खत्री र श्रेष्ठ मात्र होइन, अधिकांश किसान धानमा बाला नलागेर चिन्तामा छन् । निजगढ–९ मा मात्रै करिब ३० बिघामा धान नफलेको निजगढ–९ का वडाध्यक्ष रामचन्द्र कटुवालले बताए । उनका अनुसार २५ जनाभन्दा बढी किसानको गुनासो वडा कार्यालयमा आएको छ । 

‘अहिले ठ्याक्कै कतिको क्षति भयो भन्ने एकिन भइसकेको छैन,’ वडा अध्यक्ष कटुवाल भन्छन्, ‘अहिले पनि किसानहरूबाट गुनासो आइरहेको छ । हामीले तथ्यांक संकलन गरिरहेका छौँ । हाम्रो वडामा मात्रै होइन, यो नगरपालिकाको अरू वडामा पनि यो जातको धान लगाउने सबै किसानकोमा यस्तै समस्या आएको छ ।’ 

धानमा बाला नलागेपछि केही किसानले बोट काटेर भैँसीलाई घाँस हाल्न थालेको पनि उनले बताए । ‘किसानहरूको धेरै गुनासो आएपछि म आफैंले पनि धान बालीको अनुगमन गरेको थिए,’ उनी भन्छन्, ‘डेल्टा रानी जातको धान रोपेका किसानको खेतमा बाला नै लागेको छैन ।’ अरू जातको धान लगाउने किसानले धमाधम धान भित्र्याउँदै छन् ।  

‘डेल्टा रानी’ जातको धान लगाउने किसानकोमा मात्र यस्तो समस्या देखा परेको उनको भनाइ छ । वडाध्यक्ष कटुवालले बाली बिग्रिएर पीडित बनेका किसानलाई राहत दिने बारेमा छलफल भइरहेको पनि बताए । ‘वडामा बजेट विनियोजन गरेको हुँदैन,’ उनी भन्छन्, ‘यो बिउले गरेर धेरै किसानले एक माना पनि धान भित्र्याउन नपाउने भए । यस्तो भवितव्य पर्दा कुनै शीर्षकबाट बजेट कटौती गरेरै भए पनि किसानको घाउमा मल्हमपट्टी लगाउने वातावरण तयार गर्छौँ ।’ 

विगत वर्षमा दाना चाइनिज धान डीवाई २८ हाइव्रि ‘युएस ३१२’ को हाइब्रिड, सावा मन्सुली, गरिमा वर्णशङ्कर (हाइब्रिड) लगायत धेरै जातको बिउमा धान नलाग्ने समस्या देखिएको थियो । बालामा दाना नलाग्ने समस्या नौलो होइन । विभिन्न क्षेत्रका किसानले बर्सेनि यस्ता समस्या झेल्दै आएका छन् ।  

सम्बन्धित निकाय बेखबर

निजगढ नगरपालिकामा ‘डेल्टा रानी’ जात धानमा बाला नलागेको समस्या आफूहरूलाई जानकारीमा नआएको बिउ बिजन गुणस्तर केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले बताए । ‘धानमा बाला नलागेको भन्ने खबर हामीलाई थाहा छैन,’ उनी भन्छन्, ‘यो खबर यहाँसम्म नआएको हुनाले अहिले नै किन यस्तो भयो भनेर भन्न सकिँदैन । ‘डेल्टा रानी जात नै हो, होइन त्यो पहिला पहिचान गरेपछि मात्रै समस्याको पहिचान हुन्छ ।’  

भारतीय कम्पनीको ‘डेल्टा रानी’ जातको बिउ नेपाल सरकारबाट सूचीकृत जात हो । यो जात २०७२ (२०१५) सालमा सिफारिस भएको थियो । उक्त जातको धान १२४ देखि १२८ दिनमा पाक्ने विज्ञको भनाइ छ । यो जात तराई र भित्री मधेशका लागि सिफारिस गरिएको छ । 

‘यो जात तराईकै लागि सिफारिस जात हो । समुद्री सतहदेखि ७ सय मिटरसम्मका लागि सिफारिस जात हो । अब किसानको समस्या के हो हामीलाई रिपोर्टिङ भएको छैन,’ सूचना अधिकारी आचार्यले भने, ‘सुरुमा त  ‘डेल्टा रानी’ जातकोमा नै समस्या देखिएको हो होइन ? हो भने किसानले कहाँबाट किने ? कसले यो जातको बिउ भित्र्याए । यी सबै पहिचान भइसकेपछि मात्रै हामीले भन्न सक्ने अवस्था आउँछ ।’

उनका अनुसार बिउबिजनको प्रयोगबाट हुने हानी नोक्सानीको क्षतिपूर्तिसम्बन्धी निर्देशिका–२०७३ अनुसार सरकारले किसानलाई क्षतिपूर्ति दिलाउन पहल गर्छ । यस्तै, गलत बिउ बिक्रीका कारण किसानलाई हानी नोक्सानी पुगे बिउविजन ऐनमार्फत बिक्रेतालाई क्षतिपूर्ति भराउने व्यवस्था पनि रहेको उनको भनाइ छ ।

‘बिउ छनोटलाई प्राथमिकता दिऔँ’ 

वरिष्ठ वैज्ञानिक बालीविज्ञ टीकाबहादुर कार्की धान उत्पादन नहुने समस्याबाट बच्न किसानले बिउ छनोटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । उनले हाइब्रिड जातभन्दा अरू जातका बिउ लगाउन पनि सुझाव दिए । 

यस्तो विषयमा बिउ व्यापारमा संलग्न सरकारी/गैरसरकारी कम्पनीहरूले राम्रोसँग किसानलाई जानकारी दिनुपर्ने कार्की बताउँछन् । ‘व्यापारीहरूले कुन जातको धान कुन क्षेत्रको लागि सरकारले सिफारिस गरेको छ । राम्रोसँग बुझेर किसानहरूलाई बुझाएर मात्र बिक्री वितरण गर्नु पर्छ,’ उनले भने । 

तराई, पहाड, काठमाडौंका लागि सिफारिस भएका जातको मात्र बिउ बिक्री वितरण गर्नु पर्ने पनि उनले बताए । यसका साथै सरकारले पनि किसानलाई बिउबारे जनचेतना फैलाउनुपर्ने पनि बालीविज्ञ कार्कीको भनाइ छ ।

  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार १९:१६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया