logo-img

नेपालसँग हारिसकेको अफगानिस्तानको लोभलाग्दो क्रिकेट प्रगति [भिडियो]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कुनै बेला अफगानिस्तान क्रिकेट टिम नेपालविरुद्ध जित निकाल्न संघर्षरत थियो । उसले केही खेलमा नेपालसँग हार पनि बेहोर्‍यो । तर, अहिले अफगानिस्तानको टिम बेग्लै उचाइमा छ । 

ऊ विश्व क्रिकेटका शक्तिशाली देशलाई एकपछि अर्को गर्दै स्तब्ध पारिरहेको छ । यसैक्रममा अफगानिस्ताले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा आइतबार डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डविरुद्ध ६९ रनको ऐतिहासिक जित निकाल्यो । यो जितपछि अफगानिस्तानको क्रिकेटले थप उडान भर्ने निश्चित छ । 



विश्वकपमा पहिलो जित दिलाउनेक्रममा अफगानिस्तानले अलराउन्ड प्रदर्शन गर्‍यो । दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान २ सय ८४ रनमा अलआउट भयो । खेलमा ओपनिङ ब्याटरद्वय रहमानुल्लाह गुर्बाज (८०) र इब्राहिम जाद्रान (२८) ले ११४ रनको उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानलाई सानदार सुरुवात दिलाए ।  

तल्लोक्रममा पहिलो विश्वकप खेल खेलेका इकराम अलीखिल (५८ रन) ले अर्धशतकीय पारी खेले । यस्तै, बलरका नामले प्रसिद्धि कमाएका राशिद खान (२३) र मुजीबउर रहमान (२८) ले पनि ब्याटिङबाट पनि योगदान दिए । 



२ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डको न सुरुवात राम्रो रह्यो नत अन्त्य नै । उसका लागि मध्यक्रमका ह्यारी ब्रुकले बाहेक अरू ब्याटरले अर्धशतकीय इनिङ नै खेल्न सकेनन् । स्टार खेलाडीले भरिपूर्ण इंग्लिश टिम अफगानिस्तानसामु निरीह बन्यो । र, ऊ ४०.३ ओभरमै २ सय १५ रनमा समेटियो । 

यसपटक इंग्ल्याण्डको प्रदर्शन निकै कमजोर देखिएको छ । उसले पहिलो खेलमा न्यूजिल्याण्डसँग ९ विकेटको लज्जास्पद हार बेहोरेको थियो । यी दुई हारले इंग्ल्याण्ड टिमको सेमिफाइनल यात्रामा प्रभाव पार्ने देखिन्छ ।  



यता इंग्ल्याण्डलाई हराउँदै उच्च मनोबल बटुलेको अफगानिस्तान टिम आगामी खेलमा अरू टोलीलाई पनि चकित पार्ने दाउमा छ । ऊ पहिलो र दोस्रो खेलमा क्रमशः बंगलादेशसँग ६ तथा भारतसँग ८ विकेटले पराजित भएको थियो । अफगानिस्तानले चौथो खेलमा बुधबार न्यूजिल्याण्डको सामना गर्नेछ । 

अफगानिस्तान क्रिकेटको विगत हेर्दा ऊ कठिन अवस्थाबाट यहाँसम्म आइपुगेको हो । अफगानिस्तानमा हाल पनि अन्तर्राष्ट्रिय क्रिकेट हुँदैन । त्यहाँ अहिले पनि राष्ट्रिय क्रिकेटरहरू घरेलु प्रतियोगिता ढुक्ककास था खेल्दैनन् ।  

अफगानिस्तान टिमले भारत र यूएईमा वर्षौंदेखि मैदान भाडामा लिएर प्रशिक्षण गर्दै आएको छ । सुविधायुक्त मैदानमा अभ्यासकै कारण पनि डेढ दशकमै अफगानिस्तानको टिमले विश्वकप क्रिकेटमा अलग्गै पहिचान बनाएको छ । 

सन् २०१४ सम्म नेपाल र अफगानिस्तानको टिम उस्तै मानिन्थे । सोही वर्ष बंगलादेशमा भएको टी–२० विश्वकपमा अफगानिस्तानले नेपालसँग पराजयसमेत बेहोरेको थियो । 

अफगानिस्तान सो हारपछि पनि निराश भएन । बरु अगाडि बढ्ने योजनामा तल्लीन भयो । तर, नेपाली टिमले भने त्यसयता विश्वकपमा समेत स्थान बनाउन सकेको छैन । यद्यपि आसन्न टी–२० विश्वकप भने नेपाल छनोट हुने सम्भावना बलियो छ । 

छनोट प्रतियोगिता नेपालमा हुने भएकाले पनि दोस्रोपटक विश्वकप खेल्ने नेपालको सपना पूरा हुने सम्भावना बढेको हो । विश्वकप छनोट कात्तिक १३ गतेदेखि काठमाडौंमा आयोजना हुनेछ ।  

  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १३:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया