मदन पुरस्कार विवेक ओझा र जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई अर्पण

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ ।

सोमबार ललितपुरमा एक कार्यक्रमकाबीच ०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार अर्पण गरिएको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझा र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन् । 

मदन पुरस्कार र जगदम्बाश्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ । यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो । ऐँठन कृति माओवादी आन्दोलनका बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथि केन्द्रित छ । 

उनले ऊर्जाशील उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गरे । ओझाले भने, ‘मदन पुरस्कार पाएको खबर पाएँ । नजिकै बसेकी श्रीमतीलाई सुनाएँ । नातिसँग खेलिरहनुभएकी मेरी आमालाई सुनाएँ ।  तुरुन्तै भिडियो कल गरेँ । मेरो भाइलाई सुनाएँ । भाइ खबर सुनेर रोयो । आमा रुनुभयो । पुष्पा रोइन् । थाहा नपाई ती आँसुले मेरा आँसुलाई समेत जागृत गराए ।’ 

बाबुलाई भने खबर सुनाउन नसकेको उनले बताए । ‘उहाँ त झनै पो भावुक हुनुहुन्छ । पक्कै पनि ती सामान्य आँसु थिएनन्,’ उनले भने, ‘यस्तो लाग्यो वर्षौंसम्म पर्खिएर खस्नका लागि पालो कुरीरहेका आँशु हुन् । कुनै कुनै आँशु गहमा आफ्नो पालो कुरेर बसिरहेका हुँदा रहेछन् ।’ 

बेलिविस्तार लगाउँदै उनले भने,‘स्कूल नचिन्दै बुवासँगका लोककथा रित्तिए । अझ तरकारी, खेत, हलो–कुटो र अँगेनाका समेत गन्तव्यहीन संवाद बुवाले सुनाउन पर्यो । सुत्‍नुअघि कथा सुन्ने बानी जो थियो । मलाई कताकता लाग्छ, तिनै नाम–बेनाम कथाहरूले म मा आख्यानको बीज रोपेका थिए । स्कूल पढ्दै गर्दा ठूलो दाइको सिको गर्दै रहरै रहरमा लेखनको बामे सुरु भयो । र, त्यो यात्रा खतरनाक नसामा परिणत भइसकेको रहेछ । यस अर्थमा खतरनाक नसा कि, मैले ऊर्जामय उमेरको उच्चतम समयमा समेत पारिवारिक जिम्मेवारीबाट भागेँ, अभाव स्वीकार्य साथी मान्न रुचाएँ । समाजको आर्थिक प्रश्‍नहरूसँग लुक्‍नु परिरह्यो । ठिक नसामा फसेको मानिसजस्तो । त्यस्तो प्रतिकूल समयमा जो धैर्यता, साहस र प्रेम मेरी श्रीमतीले देखाइन्, त्यसप्रति म नतमस्तक छु । निःशब्द हुन पुग्छु ।’





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार २१:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया