logo-img

के हो मुटु रोग ? कसरी स्वस्थ राख्ने मुटुलाई ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मुटु रोग भनेको मुटुमा हुने रोग हो । मुटु भनेको छातीको देब्रे भागमा रहेको मांशपेशीय अंग हो । गर्भावस्थाको ८ हप्तादेखि चल्न सुरु हुन्छ र मान्छेको मृत्यु नभएसम्म यो अनवरत रूपमा धड्किरहन्छ । यसको काम भनेको रगत र अक्सिजन शरीर भरी प्रवाह गर्ने हो । शरीरका अन्य अंगमा रोग लागेजस्तै मुटुमा पनि रोग लाग्न सक्छ । 

मुटु रोगहरू धेरै प्रकार हुन्छन् । तीमध्ये चिकित्सकहरूले मुटुका रोगलाई जन्मजात मुटु रोग, बाथ मुटु रोग र जीवनशैलीसँग सम्बन्धी मुटु रोग भनेर ३ भागमा बाँडेका छन् । आम मानिसमा मुटु रोग भन्नासाथ हृदयाघात र हार्ट फेल मात्र हो भन्ने भ्रम छ। तर, मुटुका अन्य थुप्रै रोग हुन्छन्। मुटु र रक्त नली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको चिकित्सकहरू बताउँछन् । 

जन्मजात मुटु रोग

कुनै केटाकेटीलाई जन्मजात मुटु रोग लागेको हुन सक्छ । डा. दिवाकर शर्माका अनुसार यो रोग थोरैलाई मात्र लाग्छ । उनका अनुसार गर्भधारण गरेको ३ महिनाभित्र आमालाई रुबेला नामक दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ । फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउँछ । 

चिकित्सकका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्त्वको कमी भएमा पनि जन्मजात मुटु रोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औँलाका टुप्पाहरू नीलो हुने, बच्चा जन्मिँदै नरुने, औँलाका टुप्पाहरू बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार रुघाखोकीले सताइराख्ने, शिशुको उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटु रोगका लक्षण हुन् ।

बाथ मुटु रोग



यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतः ५ देखि १५ वर्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी घाँटी दुख्ने गरेका केटाकेटीलाई एकखाले ज्वोरो आउन सक्छ, जुन बेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरू दुख्ने र सुन्निने हुन्छन् । यो ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यसै ज्वरोको कारण पछि गएर मुटुको भल्भ खराब हुने रोग लाग्छ । यसलाई बाथ मुटुको रोग भनिन्छ । 

जीवनशैलीसँग सम्बन्धित मुटु रोग



जीवनशैलीसँग सम्बन्धित मुटु रोगमा हृदयाघात, उच्च रक्तचाप आदि पर्छन् । मुटु रोगमध्ये हृदयाघातलाई मानव मृत्युको प्रमुख कारण मानिँदै आएका छ । चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभर रक्त सञ्चालन गराउँछ । 

मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरूमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यस कारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ । 

लक्षण

विभिन्न किसिमका मुटु रोगका भिन्न भिन्नै लक्षण हुन्छन् । कोरोनरी मुटु रोगको लक्षणमा विशेष गरी हिँड्दा, शारीरिक व्यायाम गर्दा, सिँढी चढ्दा छातीको देब्रेतिर भारी, गरुंगो हुन्छ । उक्त भारीपन ढाड, कम्मर, घाँटी, पेटको माथिल्लोतिर पनि हुनसक्छ । सबैलाई यही लक्षण देखिन्छ भन्ने पनि नहुने चिकित्सक बताउँछन् । 

चिकित्सकका अनुसार कसैलाई अचानक कोरोनरी मुटु रोग पनि देखिन सक्छ । कतिपयलाई अचानक हृदयाघात हुनसक्छ । हृदयाघात भइसकेपछि चिटचिट पसिना आउने, असह्य पिडा हुने गर्छ । 

त्यसै गरी जन्मजात मुटु रोगमा बच्चा जन्मिँदा रुँदा, शरीरको रङले थाहा हुन्छ । दूध चुस्न नसक्ने, बच्चाको तौल नबढ्ने, शारीरिक विकास नहुने हुन्छ ।

सहरी क्षेत्रमा बढ्दै कोरोनरी मुटु रोग 

नेपालमा सहरी क्षेत्रमा कोरोनरी मुटु रोगको समस्या बढ्दै गएको छ । चिकित्सकका अनुसार मुटु रोग सम्बन्धी एक अध्ययनमा नेपालमा वयस्क व्यक्तिमा कोरोनरी मुटु रोग लगभग तीन प्रतिशतमा देखिएको छ । 

पहिले वृद्ध व्यक्तिलाई हुन्छ भनिएको मुटु रोग हाल युवा अवस्थामा पनि देखिन थालेको डा. शर्मा बताउँछन् । उनका अनुसार पहिले महिलामा मुटु रोग कम हुन्छ भन्ने गरिन्थ्यो । तर, हिजोआज महिला, पुरुषलाई बराबरी जोखिम छ । 

सहरी क्षेत्रमा कोरोनरी मुटु रोग बढ्नुको कारण हाम्रो जीवनशैली नै रहेको डा. शर्माको भनाइ छ । विभिन्न कारणहरूले गर्दा कोरोनरी मुटु रोगको समस्या बढिहरेको छ । कोरोनरी मुटु रोगको खानपानसँग गहिरो सम्बन्ध छ । जंक फूड, चिल्लोपिरो अत्यधिक खाँदा पनि यो रोग बढ्दै गएको छ । जीवनशैलमिा सुधार गर्ने हो भने मुटु रोगको जोखिमकलाई कम गर्न सकिन्छ ।
 
मुटुलाई कसरी स्वस्थ राख्ने 

मुटुको चालसम्बन्धी रहेको मुटु रोग उपचारपश्चात् पूर्ण रूपमा निको हुन्छ । त्यसबोहका मुटु रोग नियन्त्रणमा राख्न सकिन्छ । तर, पूर्ण रुपमा भने निको हुँदैनन् । मुटुरोगलाई जिन्दगीभरि औषधि खानुपर्ने रोग हो भनेर बुझ्दा पनि हुने डा. शर्मा बताउँछन् । 

चिकित्सकका अनुसार मुटुलाई जति स्वस्थ राख्न सक्यो, स्वास्थ्यलाई त्यत्ति नै फाइदा पुग्छ । त्यसैले मुटुलाई हानि हुने काम गर्नुहुँदैन । मुटुलाई स्वस्थ राख्न जीवनशैली, खानपानमा परिवर्तन गर्न आवश्यक रहेको चिकित्सकको भनाइ छ । 

धूमपान त्याग्ने

धूमपान गर्ने बानीले मुटु रोगीलाई अझ असर गर्छ । त्यसैले मुटु स्वस्थ राख्नका लागि धूमपान नगरकै बेस हुन्छ ।

तौल नियन्त्रणमा राख्ने

मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध रहेको छ । तौलमा हुने वृद्धिले टाइप–२ डायबिटिजको जोखिम बढाउँछ । मधुमेहले मुटु रोगको जोखिमलाई झन् बढाउँछ । त्यसैले तौललाई पनि नियन्त्रणमा राख्नुपर्छ । 

रातो मासु नखाने

मुटु स्वस्थ बनाउन रातो मासु नखान विज्ञहरूले बताउँदै आएका छन् । धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउँछ । हरेक दिन ५० ग्राम परिष्कृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भावना ३८ प्रतिशत हुन्छ । रातो मासुले पेटसम्बन्धी अन्य रोग पनि निम्त्याउँछ । 

नुन कम खाने

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने जीवनको उत्तरार्द्धतिर मुटुको खतरा बढाउँछ । वयस्कहरूले दिनमा ६ग्राम भन्दा पनि न्यून (एक चिया चम्चा) नुन खानुपर्छ । नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनि खान छोड्नुपर्छ  ।

चिनीको कम प्रयोग 

बढी चिनी खाँदा तौलमा वृद्धि गर्नुका साथै मधुमेहको समस्या बढाउँछ । खाना र पेयमा राखिने चिनीको मात्रा घटाउनुपर्छ । दिनहुँ खाने खानेकुरामा हुने चिनीको मात्रालाई विशेष ख्याल गर्नुपर्ने चिकित्सक सुझाउँछन् ।

शारीरिक व्यायाममा ध्यान दिने

४० वर्षपछि केही घन्टा फटाफट हिँड्दा, साइकल चलाउँदा वा सामान्य गतिविधिमा व्यस्त हुँदा तपाईँको मुटु स्वस्थ हुन्छ । मुटुलाई स्वस्थ राख्न शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्छ । 

तनावमुक्त रहने

मुटुलाई स्वस्थ मुटु तनावरहित बस्नुपर्छ । तनावले मुटुसँग विभिन्न समस्या उत्पन्न हुन्छन् । तनाव दिने हर्मन कोर्टिसोले अस्वस्थ फ्याटमा वृद्धि गरी मुटुको समस्याको खतरा बढाउँछ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ । तसर्थ स्वस्थ मुटुको लागि सधैँ तनावरहित रहनुपर्छ । 
 

  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १४:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया