logo-img

मेची–काली अभियानले फेरियो चन्द्रकलाको जीवन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नयाँ बस्ती बाराकी चन्द्रकला तिमल्सिनाको घर कुनै गाईगोठभन्दा कम छैन । उमेरले १५ टेक्दै गरेकी उनलाई जन्मदै बौद्धिक अपांगता थियो । साठीको नजिक पुगेको उनका बुबा मुक्तिनारायण व्यवहारको दलदलमा यसरी फसेका छन् कि लाग्छ परिस्थिति अब उनको नियन्त्रण बाहिर छ ।

चन्द्रकलाकी आमा मुक्तिनारायणकी चौथो श्रीमती हुन् । अघिका तीन श्रीमतीले छाडेपछि चन्द्रकलाको आमासँग उनको विवाह भएकाे थियो । साथमा माइली श्रीमतीबाट जन्मेको आकाश छन् । पैसा कमाउन भारत लागेका उनी फर्कदा मनोरोगी भएर फर्किएका थिए ।

उनी दिनभर घर बस्दैनन् । दिनभर गाउँ डुलिरहन्छन् र भोक लागेपछि घर आउँछन् । घर बाहिर फलैंचामा नै उनको विस्तारा छ । चरालाई आरा राखिदिए झैँ गरी उनलाई डोरीमा थाल झुण्डाएर खाना राख्ने गरेको रहेछ । आकाश कुनबेला आएर खान्छन् र जान्छन् कसैलाई थाहा हुँदैन ।

चन्द्रकला आफूलाई दिशापिसाव लागेको समेत थाहा पाउँदिनन् । उनको स्याहार सुसार र घरधन्दा मनोरोगी आमाको जिम्मेवारीमा छ । साथमा एउटा गाई, केही बाख्रा र कुखुरा पालेका छन्, ६० वर्षीय मुक्तिनारायण सकिनसकी घाँस काट्न जान्छन्, दाउरा खोज्छन्, गाईबस्तुको कुडोपानी गर्छन् ।

मानव सेवा आश्रमकाे उद्धार टोली चन्द्रकलाको घर पुग्दा सबै गाउँले जम्मा भएर उनको उद्धार गर्न अनुनय विनय गर्न थाले । उनको उद्धारले परिवारमा थप सहजता मिल्ने र चन्द्रकलाको आगामी जीवन थप सहर बनाउन सकिने निचोडसहित यात्रीले चन्द्रकलाको उद्धार गरे । उनीसहित हिजो उद्धार गरिएकाहरूलाई मानव सेवा आश्रम वीरगंज शाखामा राखिएको छ ।​

यतिबेला देश दसैँमय भएको छ । मीठो खाने, राम्रो लगाउने, परिवारजन भेला हुने र सद्भाव बाढ्ने, अग्रजको अशिर्वाद ग्रहण गर्ने जस्ता क्रियाकलापहरूमा सिंगो नेपाली समाज रमाइरहदा मानव सेवा आश्रमले भने यस पटकको दसैँ फरक तरिकाले मनाइरहेको छ ।



‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले गत असोज २७ गतेदेखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रित मानवहरूको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरूसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरू मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो ।



पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बाग्मती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

विगत वर्षहरूमा पुस/माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडहरूलाई लक्षित गरी सञ्चालन गरिएको उनले बताए ।

उनका अनुसार यस अभियानमा करिब तीन सय जनाको उद्धार गरिनेछ ।  गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एक कार्यक्रमबीच यात्रीहरूलाई विदाई गर्दै यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताएका थिए ।

राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभई समाजसेवा झन् बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उनको भनाइ छ । ३८ दिनसम्म सञ्चालन हुने अभियानमा आश्रमका ३८ जना स्वयंसेवकको सहभागिता रहेको छ ।

यात्रीहरूले असोज २७ गते पूर्वीनाका मेची पुलमा पुगेर दीप प्रज्ज्वलन गरी उद्धार कार्यको शुभारम्भ गरेका थिए । कोशी प्रदेशमा चार दिन बिताएर मधेस प्रदेश केन्द्रीत भएका उद्धार टोलीले हिजोसम्म ८३ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिसकेको छ । उद्धार गरिएकाहरूमध्ये अधिकांश मनोरोगी छन् ।

यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन वरिष्ठ समाजसेवी एवं आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि सहभागी भएकी छिन् ।

यात्राको सम्पूर्ण खर्च सोही फाउण्डेसनले बेहोरीरहेको छ । संसारलाई महंगोमा गीत सुनाएर आफूले प्राप्त गरेको अधिकांश पारिश्रमिक समाज सेवामा लगाउँदै आइरहेकी आनी छोइङ डोल्मा यतिखेर सहयोगापेक्षीहरूको उद्धार, नुवाइधुवाई र सरसफाइमा रमाइरहेकी थिइन् ।

मानव सेवाभन्दा अर्को महान धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको समाजसेवी आनी छोइङले बताइन् ।​ उनले भनिन्, ‘दिनदुःखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य संग्रह बढ्छ । मानव सेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाई पनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ ।’

मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरू सार्थक रहने उनको भनाइ छ ।

मानव सेवा आश्रमका देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरूबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन् ।

तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् । यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ ।

  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार १६:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया