तलेजुमा ‘जीवित देवी’ एकान्त कुमारीको हातबाट टीका ग्रहण
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ ।

कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरू, कर्माचार्यहरू, गुरु तथा पुरोहितले साइतको टीका लगाउनुभएको मूल नाइके जोशीले जानकारी दिए ।   

कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको जोशीले बताए । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न विशिष्ट व्यक्तिहरू र सर्वसाधारण समेत तलेजु पुगेका छन् ।

यसअघि एकान्त कुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारी जात्रा सम्पन्न गरिएको थियो । तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्त कुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर विधिवतरूपमा जात्रा मनाइएको जोशीले बताए । टिबुक्छेँमा रहेको ११ जनाको गणकुमारीको चतुर्ब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेद, चण्डीलगायतको पाठ गरी कुमारीको पुजारी प्रवेशराज राजोपाध्याय र प्राडा सिद्धिबीर कर्माचार्यले पूजा गरी जात्रा मनाइएको थियो ।

नवदुर्गाका रूपमा नौ कुमारी र भैरव तथा गणेश गरी ११ गणकुमारीको पुजा सकिएपछि तलेजुका पाँच सय २८ रकमीको सहभागितामा एकान्त कुमारीको पूजा गरिएको थियो । काठमाडौंस्थित कुमारी घरबाट कुमारीलाई शुभसाइतमा तलेजु मन्दिर स्थित दशैँ घरमा ल्याएर विराजमान गराई मूल चोकमा राखेर पूजा गरिएको उनले जानकारी दिए ।



तलेजुमा दशैँमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई जात्रा तलेजु जात्रा मनाइएको छ। तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा छ ।

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा छ भने भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा छ ।



  • प्रकाशित मिति : कात्तिक ७, २०८० मंगलबार १६:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया