ग्यास्ट्रिकबाट कसरी जोगिने ? यस्ता छन् उपाय

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

देशभर दसैँको माहोल छ । आज दसैँको तेस्रो दिन अर्थात् असोज शुक्ल त्रयोदशी । त्रयोदशीका दिन पनि नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । 

देशभर ठाउँअनुसार भिन्नभिन्नै तरिकाले दसैँ मनाइरहेका छन् । विशेषगरी परिवार र साथीभाइसँग रमाइलो गरेर यो चाड मनाइन्छ । दसैँ चाडलाई खानपानका उत्सवका रूपमा लिइन्छ । यसक्रममा मासुजन्य परिकार धेरै पाक्ने गर्छन् । मासु भनेपछि चिल्लो, पिरो, मरमसला आदिको समिश्रण हुने नै भयो । 

दसैँमा खानपान नमिल्दा कुनै रोगबाट पीडितलाई गाह्रो हुन्छ । साथै निरोगी व्यक्तिहरूले समेत विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ । विभिन्न स्वास्थ्य समस्यामध्ये नेपालीमा साझा रोगका रूपमा परिचित ग्यास्ट्रिक पनि एक हो । खानपानको तालमेल नमिल्दा वा असन्तुलन भोजनका कारण यो समस्या आमरूपमा हुने गर्छ ।  

ग्यास्ट्रिक कसरी हुन्छ ? 

आमाशयको नरम झिल्ली सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिक हुँदा पेट पोल्ने वा दुख्ने गर्छ । ग्यास्ट्रिक विभिन्न कारणले हुनेगर्छ । ग्यास्ट्रिक हुने अर्को कारण हो : एचपाइलोरी ब्याक्टेरिया । त्यसको संक्रमणले गर्दा आमाशय सुन्निने र घाउसमेत बनाउँछ ।

नेपालसहित भारत, पाकिस्तान र भुटानलगायतका विकासोन्मुख देशहरूमा एचपाइलोरी ब्याक्टेरिया ग्यास्ट्रिक बनाउने प्रमुख कारण मध्ये एक हो । कहिलेकाहीँ ग्यास्ट्रिकको समस्या देखिएको छ भने अस्पतालमा जाँच गर्नुपर्छ । फुकेर हेर्ने जाँचमा ग्यास्ट्रिक हुने एचपाइलोरी किटाणु छ/छैन यकिन गर्न सकिन्छ । एचपाइलोरी ब्याक्टोरिया देखिएमा दुई हप्ता एन्टिबायोटिक औषधी खाएपछि निको हुन्छ । जसले ९० प्रतिशत ग्यास्ट्रिकको समस्या निर्मूल पार्नुका साथै खाना पनि पचाउँछ । 



ग्यास्ट्रिकको मुख्य कारण एचपाइलोरी हुँदा ४५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई जोखिम बढी हुन्छ । ४५ वर्षमाथिका व्यक्तिहरूमा रगतको कमी भएमा, तौल कम हुँदै गएमा, खान मन नलागेमा र कालो दिसा आएमा इण्डोस्कोपी गराउनुपर्छ । 

किन हुन्छ ग्यास्ट्रिक ?



चिल्लो, अमिलो, मसालेदार खानाहरू खाँदा ग्यास्ट्रिक बढ्छ । त्यस्तै, खाली पेट बस्दा र समयमा खाना नखाने व्यक्तिहरूमा पनि ग्यास्ट्रिकको समस्या देखापर्छ । यसका साथै अत्यधिक मात्रामा धूमपान र मदिरा सेवन गर्ने मानिसलाई पनि ग्यास्ट्रिकले सताउँछ । जथाभाबी औषधि सेवनले पनि ग्यास्ट्रिकको समस्या निम्त्याउँछ ।  

‘रिफ्लक्स डिजिज’ ले पनि पेटको एसिड माथि फर्किएर आउँछ । जसले अमिलो डकार आउने, वाकवाकी लाग्ने, छाती पोल्ने र खाना खाएपछि असहज हुने हुन्छ । यसैगरी अत्यधिक चिया वा कफीको सेवन, चिसो पेय पदार्थको बढी सेवन, बढी तारेभुटेका तथा मसालेदार खाना, बिस्कुट, धूमपान, मद्यपान, बढी चिल्लो बोसो भएको खाना, पाउरोटी, बर्गर आदिको नियमित सेवनले पनि ग्यास्ट्रिकको समस्या हुन्छ ।

ग्यास्ट्रिक हुनबाट कसरी जोगिने ? 

दीर्घकालीनरूपमा ग्यास्ट्रिकको समस्या भएका व्यक्तिहरूले दसैँको समयमा खानपानमा विशेष ख्याल गर्नुपर्छ । खाली पेटमा एकैपटक चिल्लो सेलरोटीदेखि मासु खाँदा ग्यास्ट्रिक बढाउँछ । त्यसैले, ग्यास्ट्रिकको समस्या हुनेले खाली पेट बस्नै हुँदैन । बिहान पानी, कालो चिया र फलफूल खाइरहनुपर्छ । 

सामान्यबेला भन्दा दसैँमा पोलेको र डिप फ्राइ गरिएको मासु बढी खाइन्छ । तर, ग्यास्ट्रिक हुनेले बफ र मटन (रातो मासु )का यस्ता परिकार खानुहुँदैन । सामान्य तरिकाले पकाएको कुखुराको मासु खानुपर्छ । ग्यास्ट्रिकको समस्या भएकाले साँझको खाना ७ बजेसम्म खाइसक्नुपर्छ ।  

चिउरा, दूध, घ्यू, अमिलो र पिरो अचार खाँदा पनि ग्यास्ट्रिक/रिफ्लक्स डिजिज बढ्न थाल्छ। त्यसैले सकेसम्म यी खानेकुरा नखाँदा नै राम्रो हुन्छ । हरियो सागपात, तरकारी, फलफूल, दही र बोसोरहित मासु जस्ता खानेकुरामा बढी जोड दिनुपर्छ । 

ग्यास्ट्रिकको समस्या नभएकाले पनि चाडवाड तथा अन्य समयमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । ग्यास्ट्रिकको समस्या नहुनेले ‘ग्यास्ट्रिक छैन मलाई’ भनेर जे पायो त्यही खाएको देखिन्छ, वास्तवमा त्यस्तो गर्नु हुँदैन । ग्यास्ट्रिक हुनबाट बच्न खानेकुरामा ख्याल गर्नुपर्छ । दसैँमा खानपिन नमिल्दा स्वस्थ मानिसलाई पनि ग्यास्ट्रिकसहित अपच, झाडापखाला र फुड पोइजनिङ हुन सक्छ । धेरै दिनसम्म फ्रिजमा राखेको मासु खानुहुन्न । साथै बासी सेलरोटी र मिठाइले पनि स्वास्थ्यमा गडबड पैदा गर्नसक्छ । 

ग्यास्ट्रिकको समस्या हुँदा एन्टासिड औषधि लिनुपर्छ । यो औषधि तीन चम्चा पानीमा राखेर खाँदा स्वास्थ्यमा सुधार हुन्छ । जीवनजल खाँदा पनि ग्यास्ट्रिकसहित झाडापखाला लगायतका समस्यादेखि राहत मिल्छ । यी सबै उपाय गर्दा पनि ग्यास्ट्रिक निको भएन भने चिकित्सककहाँ गएर स्वास्थ्य परीक्षण गर्नुपर्छ । र, चिकित्सकको सल्लाहमा औषधीको सेवन गर्नुपर्छ । 

(नर्भिक अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सन्दीपराज कुँवरसँग फरकधारकर्मी रेश्मा सिंहले गरेको कुराकानीमा आधारित ।) 

  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार १२:५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया