logo-img

तालबाराही मन्दिर पुनः निर्माण थालियो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पोखरा महानगरपालिका-६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज आयोजित  कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रूपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए ।

उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताए । विसं २०७२ मा गएको भूकम्पकै कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माण कार्य जुटेको हो ।

समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले मन्दिर निर्माणको लागि एक करोड ४५ लाख लाग्ने जानकारी दिए । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, संघ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरूपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताए ।



पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराही पुरानो मन्दिर भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आइएको छ ।

पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो संख्यामा दर्शनार्थी  त्यहाँ पुग्ने गर्छन । मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ ।

मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ समिति अगाडि बढेको जानकारी अध्यक्ष कुँवरले दिए । हाल भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो ।  पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि नौ करोडको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा.डा. भरत पहारीले दिए ।



चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि नौ करोड  छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने जानकारी उनले दिए ।

उनका अनुसार मूल मन्दिर एक वर्षभित्र र सभाहल, शौचालय, गार्डेन, होमनस्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुंगेधाँरा, डुंगाघाट गुरुयोजनामा छन् ।



मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै-कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ ।

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शीला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवबदन्ती छ । किंबदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ ।

तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् ।

प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभइ तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख र मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ ।

मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख  रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग संकलन गरिने व्यवस्थापन समितिले जनाएको छ ।

फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो  ।

मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो ।तालको किनारबाट पाँच मिनेटभित्रै डुंगा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ ।

प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार १३:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया