नवदुर्गामा मौलाकालिका पुगे अहिलेसम्मकै धेरै भक्तजन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरूभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो ।

दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैँडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । 

अघिल्ला वर्षहरूमा मन्दिरमा बिहानको समयमा मात्र भक्तजन जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै गएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका एवं अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । चितवनमा दिउँसोको गर्मी समयमा उकालो हिँड्न कठिन हुने भएकाले बिहान मात्र मन्दिरमा भीड हुने गरेकोमा अहिले साँझसम्म नै भक्तजन जाने गरेको पाइएको छ ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ । यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि गत वर्षहरुका तुलनामा झन्डै ३० प्रतिशत भक्तजन बढेको उनले बताए । पहिले पहिले हरेक वर्ष १० प्रतिशतको हाराहारी दर्शनार्थी बढ्ने गरेकामा यस वर्ष केबलकार सेवा उपलब्ध भएसँगै थप २० प्रतिशत भक्तजन बढेको उनले बताए ।

फूलपाती, अष्टमी र नवमीमा मात्र २५ हजार भक्तजन मन्दिर पुगेका उनको अनुमान छ । यसमध्ये सबैभन्दा बढी फूलपातीका दिन नौ हजारको हाराहारीमा भक्तजन त्यहाँ पुगेका अध्यक्ष सापकोटाको दाबी छ ।

घटस्थापनाको दिनदेखि क्रमशः भक्तजन बढ्दै गएका हुन् ।  नवदुर्गा सुरु भएसँगै बिहान ५ बजेदेखि नै केबलकार सञ्चालनमा ल्याइएको छ । अन्य समय शनिबार ५ः३० र अन्य दिन ६ बजेबाट साँझसम्म केबलकार सञ्चालन हुने गरेको छ ।



केबलकार चलेपछि अन्य दिनमा पनि पहिलेको भन्दा भक्तजन २५ प्रतिशतले बढेका अध्यक्ष सापकोटाले जानकारी दिए । अन्य समयमा शनिबार एक हजार पाँच सयको हाराहारीमा भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य दिन भने यो सङ्ख्या पाँच सयको हाराहारी हुने गर्दछ ।

बिदाका दिन र पर्व विशेषमा भने भक्तजनको सङ्ख्या बढ्ने गर्दछ । मौलाकालिका केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजार व्यक्ति केबलकार चढेर मन्दिर पुगेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको थियो । 



विजयादशमी सुरु भएसँगै केबलकार चढ्नेको सङ्ख्या बढ्दै गएको छ । फूलपाती र नवमीका दिन चार हजार हाराहारीले केबलकार चढेको उहाँले जानकारी दिए । घटस्थापनायता दैनिक सरदर केबलकार चढ्नेको सङ्ख्या २ हजार रुपैयाँभन्दा बढी छ । 

केबलकारको दूरी पाँच मिनेटको छ । केबलकारबाट झरेपछि केही मिनेटको पैदलयात्रा गरी मन्दिर पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएको थाहा पाएपछि गैँडाकोट नगरपालिका–५ का ९५ वर्षीय गोकुल शाह पनि मन्दिरको दर्शन गर्न पुगेको बताए । 
 
मौलाकालिका शक्तिपीठको दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यही आस्थाका कारण नेपालका विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन यहाँ आउने गरेका छन् ।

प्रायः शनिबार र चितवनको गर्मीका कारण धेरैजसो बिहानको समयमा यहाँ दर्शनका लागि मानिस आउने गरेकामा अहिले भने दिउँसो पनि आउने गरेका छन् । रासस

  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार ८:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया