logo-img

दसैँमा टीका लगाउन छाडेका अग्नि सापकोटा भन्छन्- दसैँ टीकाबारे माओवादीमा छलफल हुनुपर्छ

थाहा पाउँदा आश्चर्य लाग्न सक्छ, पूर्व सभामुख अग्नि सापकोटाले तीन दशकयता दसैँ र तिहारमा टीका लाएका छैनन् । ५० को दशकमा पार्टी नेतृत्वले दसैँ नमनाउने भनेर गरेको निर्णयलाई उनले आजसम्म निरन्तरता दिएका छन् । यही कारणले हो सापकोटाले यस वर्ष पनि न आफूले टीका लाए न त अरूलाई नै लगाइदिए । यसरी उनले बितेका ३० वर्षयता दसैँ तिहारमा टिका लगाउने र लगाइदिने गरेका छैनन् ।  

माओवादीका प्रवक्ताको जिम्मेवारीमा रहेका नेता सापकोटाले पार्टीको दसैँ तिहारमा टीका नलाउने भन्ने उबेलाको नीति, विचार र सिद्धान्त कहिलेसम्म अनुसरण गरिरहने भन्ने पनि थाहा पाउन सकेका छैनन्। 

जनयुद्धको तयारीको समयमा नै नयाँ ढंगले सामाजिक सांस्कृतिक क्रान्ति गर्ने भन्दै माओवादीले दसैँ तिहार जस्ता पर्व परम्परागत रूपमा नमनाउने घोषणा गरेको थियो। जनयुद्धको परिवर्तनपछि नेतृत्व तहले नै बिस्तारै पर्व मनाउन थाले। नयाँ ढंगले सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय भारत भ्रमण र पशुपतिमा गएर गरेको पूजाले नै त्यसलाई पुष्टि गर्छ। आफ्ना विचारको निरन्तरता र त्यसमा दृढता देखाउने भन्दा ‘विचारमा नै अस्थिर नेता’ को ट्याग नै प्रचण्डले पाएका छन्।



आफूलाई शुद्ध कम्युनिस्ट पार्टी मान्ने माओवादी र त्यसका नेतृत्वले जनयुद्धको तयारी गर्दै गर्दा नै सामाजिक सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेर दसैँ, तिहार जस्ता पर्व समेत नमान्ने घोषणा गरेको माओवादी त्यसमा किन अडिग हुन सकेन? भन्ने प्रश्नमा सापकोटाले, नेतृत्व र पार्टीमा विचारको विकास रोकिएको भए पनि आफू भने सिद्धान्तमा अडिग रहेको दाबी गरे।

‘विसं २०५० तिर जनयुद्धको तयारी गर्दा नै दसैँको बारेमा छलफल बहस गर्नुपर्छ र यसलाई नयाँ परिभाषासहित मनाउनुपर्छ भनेर हामी कम्युनिस्टले दसैँ मान्न छोड्यौँ। त्यहाँदेखि आजसम्म मैले दसैँ तिहारमा टिका लगाएको पनि छैन र अरूलाई पनि लगाइदिएको छैन। किनभने त्यो समयमा किन छोडेको र अहिले किन सुरु गर्ने भन्ने कुराको जवाफ मसँग छैन। यसमा नेतृत्वसँग छलफल गर्न पनि सकिएको छैन । अरूले त छोडेर पनि अर्को निर्णय नहुँदै पुनः टीका लाउन सुरु गरे। तर मैले भने परम्परागत हिसाबले टिका लगाएको छैन’ माओवादी नेता सापकोटाले सुनाए। 

सापकोटाले पार्टीभित्र दसैँ किन मान्न छोडेको र किन मनाउन सुरु गर्ने भन्ने बहस गरेर निष्कर्ष ननिकालेसम्म आफूले दसैँ मनाउनुको औचित्य नहुने देखेकैले तीन दशक यता पर्वमा टीका लाउने लगाइदिने नगरेको बताए। यस विषयमा नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाई छ। 



‘हामीले पार्टीभित्र दसैँ किन नमान्ने भनेको र पछि किन कम्युनिस्टले मान्न थालेको भनेर छलफल चलाउन सकेकै छैनौँ। संस्कृति ठूलो कुरा हो, यसलाई कसरी संरक्षण गर्ने, सिर्जनात्मक र रचनात्मक रूपले कसरी विकास गर्ने भन्ने कुरामा यसमा ठूलो बहसको आवश्यकता छ। हामीभित्र छलफल गर्नै बाँकी छ। यो विषयमा पार्टीमा हिजो किन मनाउन छोडियो? त्यो बेठीक थियो भने बेठीक हो भन्न सक्नुपर्‍यो, समीक्षा हुनुपर्‍यो। आज किन टीका लगाउन सुरु गर्ने भनेर त्यसको निष्कर्षसहित सुरु गर्न सक्नुपर्‍यो। मन लागे सुरु गर्ने नलागे छोड्ने प्रवृत्ति राम्रो होइन। नेतृत्वले सोच्ने कुरा व्यवस्थित र हामीमाथि उठेका जिज्ञासालाई मेटाउन सक्ने उत्तर हामीसँग हुनुपर्छ,’ सापकोटाले भने। 

उनले माओवादीले सुरु गरेको परिवर्तनको सहयात्रीलाई पार्टीले सत्तामा पुगेपछि बिर्सिएको र पार्टीभित्र विचारको विकास नभएकै कारण माओवादी कमजोर भएको पनि औंल्याएका छन्।



उनले भने,‘देश र पार्टीको यो हालत किन भयो भने यहाँ विचारको विकास भएन। विचारको विकासमा जति हामीले ध्यान दिएर जोड बल गर्नुपर्ने थियो त्यो भएन। एक त हामीमा विचार विकासमा उदासीनता हो। अर्को उहिले माओवादीले सुरु गरेको त्यत्रो ठूलो परिवर्तनका लागि असाधारण साथ दिएका महिला, गरिब, आदिवासी, मजदुर, किसान, जनजाति सबैलाई हामीले आफ्नो वर्ग परिवर्तनसँगै कम्युनिष्टलाई साथ दिएका मध्यम र तल्लो वर्गका ती असल मित्रलाई बिर्सियौँ, टाढियौँ। त्यही कारण हामी कमजोर भइरहेका छौँ।’

माओवादीले सुरु गरेको परिवर्तनको युद्धमा होमिएर साथ दिएका तल्लो वर्गका नागरिकलाई परिवर्तनपछि माओवादीले बिर्सिएको उनले स्वीकारे। नेतृत्वमा परिवर्तनपछि आएको बदलाव, मध्यम र उच्च वर्गसँगको नेतृत्वको उठबसले तल्लो वर्गलाई माओवादीले बिर्सँदा माओवादी ३२ सिटमा खुम्चिएकाले अब त्यसलाई सुधार्न नेतृत्व नै अग्रसर भएर लाग्नुपर्ने उनको धारणा छ।  

  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार ११:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया