logo-img

मुगु सामूहिक हत्या प्रकरण : महत्वपूर्ण प्रमाण फेला परेको प्रहरीको दाबी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मुगुको मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । 

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो । 

‘हामीले महत्वपूर्ण प्रमाण भेटाएका छौँ, हामी अहिले शंका लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौँ, अनुसन्धानको नजरमा परेकाको घटनासँग संलग्न रहेको सत्यतथ्य र प्रमाणित प्रमाण जुटेपछि नियन्त्रणमा लिई हामी तपाईँहरूलाई जानकारी दिन्छौं, अहिले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ, यति भनौँ हामी हत्यारा नजिक नजिक पुगेका छौँ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।



उनका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । सम्भवतः आजै चारैको शव परीक्षण हुने जनाइएको छ । शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो । उनीहरूको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।  

मृतक श्रीदेवी छोराछोरीसहित यही ७ कात्तिकमा दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।

मृतकका श्रीमान् दीपक बोहरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राति काठमाडौं विमानस्थलमा ओर्लेर आज मुगु पुगेका थिए । 



हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालन गरिएको छ । 



  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार १४:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया