नेपालमा प्रत्येक एक लाखमा तीन हजार जनालाई पक्षाघात

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल पक्षाघात संघका अध्यक्ष डा.राजु पौडेलले प्रत्येक १ लाखमा ३ हजार नेपालीलाई पक्षाघात हुने गरेको बताएका छन् । विश्व पक्षाघात दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पौडेलले धूमपान, मध्यपान, ब्लड प्रेसर कन्ट्रोल गरी सक्रिय जीवनशैली अपनाउन सके ९० प्रतिशतसम्म पक्षाघातको जोखिमलाई घटाउन सकिने बताए ।

नेपालमा करिब तीन प्रतिशत मानिसलाई पक्षाघात हुने गरेको पाइएको छ । अर्थात्, एक लाख मानिसमा ३ हजार मानिस पक्षघातबाट पीडित छन् । त्यस्तै विश्वमा करिब एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको छ । हरेक ६ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको नेपाल पक्षाघात संघका अध्यक्ष समेत रहेका न्युरोलोजिस्ट डा.पौडेलको भनाई छ ।

धूमपान,मध्यपान नगर्ने,ब्लड प्रेसर कन्ट्रोलमा राख्ने तथा अव्यवस्थित खानपान र जिवनशैलीमा परिवर्तन गरेमात्र पनि ९० प्रतिशतसम्म पक्षाघातको जोखिमलाई घटाउन सकिने उनी बताउँछन् । 

उनी भन्छन्, ‘पक्षघातका विभिन्न कारक तत्त्वहरू छन् । विशेषगरी व्लडप्रेसर, मधुमेह,मध्यपान,धुमपान गर्ने,बदलीँदो अव्यवस्थित जीवनशैलीका कारणले मिश्रित रूपमा पक्षाघात हुने गरेको पाइएको छ । यी सबै कारक तत्वले ब्रेनमा रगत जम्मा गराउने र ब्रेनको नशा फुटेर पक्षाघात हुने गर्दछ । समयमै व्यवस्थित जीवनशैली अपनाउने र व्लडप्रेसर, मधुमेहलाई कन्ट्रोलमा राख्ने हो भनेपनि ८०  देखि ९० प्रतिशत पक्षाघातको समस्या घटाउन सकिन्छ ।’

५० वर्ष भन्दा अगाडि पुरुषमा धेरै पक्षाघात हुने गरेको र ५० वर्षपछि भने महिला र पुरुषमा तुलनात्मक रूपमा हेर्दा झन्डै समान जस्तो पक्षाघात हुने गरेको उनले बताए । तर, उपचारको लागि अस्पताल पुग्ने सङ्ख्यामा भने पुरुषनै बढी भएको उनको धारणा छ । ‘हाम्रो समाजमा पक्षघातले महिलामा असर गर्दा उनीहरूमध्ये सबैलाई अस्पताल ल्याइँदैन । केटामा यही रोग लागे अस्पताल आउँछन् । उपचारको लागि अस्पताल आउनेको आँकडा हेर्ने हो भने केही फरक पाउन सक्छौ । वास्तवमा नेपालमा पक्षाघात हुनेमा केटा केटी दुवैको रेसियो बराबर जस्तो नै देखिन्छ,’ पौडेलले भने ।

पक्षाघात एक जटिल रोग मानिन्छ । पक्षाघात मानिसको मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।



पक्षाघातको समयमै उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । पक्षाघात भएपछि त्यसको २४ देखि ७२ घण्टाभित्रै बिरामीको अवस्था हेरेर उपचारसँगै थेरापी गराउनुपर्ने बताउँछिन् फिजियोथेरापिस्ट कन्सल्टेन्ट मतिना मानन्धर । उनले भनिन्, ‘पक्षाघात भएका बिरामीको ७२ घण्टाभित्र थेरापी  सुरु गर्नुपर्ने हुन्छ । विरामी आइसीयुमै भर्ना भएको हो भने पनि बिरामीको अवस्था हेरेर आइसीयुबाटै फिजियो थेरापी गर्नु आवश्यक छ ।’

‘हामी सबै मिलेर काम गर्‍यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।  प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर यो दिवस मनाइन्छ । नेपाल पक्षाघात संघको नेतृत्वमा विभिन्न अस्पतालका न्युरोलोजिस्ट,न्युरोसर्जन,यो क्षेत्रमा कार्य गर्दै आएको संघसंस्थाले स्वास्थ्य र पक्षाघात सम्बन्धि प्लेकार्डसहित ओकाथन गरेको छ । 



साथै डाक्टस, प्यारामेडिक्स, फिजियोथेरापिष्ट, डाइटिसियनलगायतका विभिन्न सम्बद्ध पक्षसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । अचानक सन्तुलन गुम्नु, बोली लर्रबराउने, हातखुट्टा कमजोर हुने, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन् । उल्लेखित लक्षण देखिएको चार घण्टाभित्र अस्पताल पुग्न सके पक्षाघात हुनबाट बच्न सकिने डाक्टरहरुको भनाई छ । 

पक्षाघातको उपचारका लागि नेपाल पक्षाघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नुका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षाघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको पौडेलले बताए ।

  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार १४:५५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया