logo-img

एकपक्षीय ढंगले शान्ति प्रक्रिया टुंग्याउन खोजेको द्वन्द्वपीडितको आरोप
राष्ट्रसंघका महासचिवले भेट नदिएको गुनासो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नागरिक समाजले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनबारे सरोकारवाला पक्षसँग पनि छलफल गर्नुपर्ने माग राखेका छन् । आइतबार उनीहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन पीडित पक्षको आवाज नसुन्ने हो भने एकपक्षीय हुने बताए । 

उनीहरुले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ भूमिका महत्वपूर्ण रहेको भन्दै महासचिवको भ्रमणको समयमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने एजेण्डा भइरहँदा पीडित पक्षसँग पनि वार्ता गर्नुपर्ने आफूहरुको माग रहेको बताए । 

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले महासचिव गुटेरेसले नेपाल भ्रमणमा रहँदा शान्ति प्रक्रियालाई मुख्य प्राथमिकतामा राखेको, तर पीडित पक्षसँग भेट्न र उनीहरुका आवाज सुन्न बेवास्ता गरेको आरोप लगाए । आफूहरुले बारम्बार पत्र पठाएर पनि शान्ति प्रक्रियाका बारेमा सरकार पक्षको मात्रै आवाज सुन्दा एकपक्षीय हुने र पीडित पक्षको आवाज सुन्न आग्रह गरेको भए पनि सरोकारवाला पक्ष द्वन्द्वपीडित र नागरिक समाजलाई भेट्न चासो नदिएको पाएको उनले बताए । 

सरकारले अन्तर्राष्ट्रिय मञ्चमा पटकपटक प्रतिबद्धता जनाउने, तर लागू गर्ने कुरामा बेवास्ता गरिरहेको उनको आरोप छ । शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धता गलत रहेको बताए । द्वन्द्व पीडितलाई नै नभेटी शान्ति प्रक्रिया टुंग्याउँदा परिपक्व नहुने उनले औँल्याए । 

‘सरकारले जे कुरा गएर युएनसँग पनि बोलेको छ, २००८ मा पनि प्रचण्ड आफैँ गएर कमेण्ट गर्नुभएको छ । २००८ मा बोलेका कुरालाई अहिले २०२३ मा बोलेको कुरा उही नै छ,’ उनले भने, ‘कमिटमेन्ट गरिरहने, त्यही कुरा विश्वले पत्याइरहने, तर काम केही नगर्ने भनेपछि पहिलाकै कुरा दोहोरिएको भन्ने हुन्छ, काम नभएको भन्ने हुन्छ ।’

सर्वोच्च अदालतको फैसलाअनुसार ऐन संशोधन तत्काल गरेर विश्वसनीय प्रक्रियाबाट आयोग गठन गरेर न्याय दिनुपर्ने उनको माग छ । ‘देशको कानुनअनुसार यसको समाधान होस् भन्ने मनशाय हो,’ उनले भने, ‘यसलाई पटकपटक बल्झाउने काम सरकार र राजनीतिक दलहरुले बन्द गरून् ।’





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार १९:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया