logo-img

बचतकर्ताको रकम हिनामिना : श्री एयरलायन्सका क्याप्टेनसहित पाँचजना पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाका ४ हजार ५ सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो । 

सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि जनाउँदै कार्यालयमा बोलाएर षडयन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाएका छन् । ‘ऋणीहरूविरुद्ध हामीले किटानी जाहेरी दिएका छौँ । उनीहरू नै हुन् दोषी । अहिले पक्राउ परेका कोही पनि दोषी छैनन् । सञ्चालक समितिका सचिव मनोज राई आफैंले ऋणीहरुविरुद्ध गत माघ ६ गते किटानी जाहेरी दिनुभएको छ । उहाँलाई नै प्रहरीले पक्राउ गरेपछि कसरी अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ?,’ नाम उल्लेख  नगर्ने सर्तमा एक पूर्वसदस्यले भने, ‘यसमा निष्पक्ष छानबिन हुन जरुरी छ । बिना कारण कसैलाई दुःख दिन पाइँदैन । दोषीले उन्मुक्ति पाउनुहुँदैन ।’  



सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

आफूहरूले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले २ फागुन २०७९ मा सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्लाबाट खटिएर गएको प्रहरी टोलीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उनकी श्रीमती रविना श्रेष्ठ (जोशी) लाई १३ असोजमा तथा प्रबन्धक रुकु जोशीलाई १७ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो ।  

महिना दिनअघि काठमाडौंबाट पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ । पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेनसमेत हुन् ।   



बचत अपचलनमा मुख्य दोषी ठानिएका क्याप्टेन सुनिललगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने जनाउँदै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन । उनीहरूको परिवारले १ करोड ५० लाख रुपैयाँभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको नाममा खरिद गरिएको भनिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको छ । बचतकर्ताका रकमले खरिद गरिएको जग्गा आफ्नो नाममा पर्ने व्यक्तिको पहिचान भएर पनि प्रहरीले अहिलेसम्म उनीहरूलाई पक्राउ नगरेको सञ्चालक समितिका पूर्वसदस्यले बताएका छन् । 



१० मंसिर २०७२ देखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण १५ वैशाख २०७८ मा पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

तत्कालीन अध्यक्ष जोशीको निधनपछि १६ वैशाख २०७८ देखि सहकारीको आर्थिक कारोबार ठप्प रहेको छ । सहकारीमा एकैजनाले ४५ लाख रुपैयाँसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन् । रासस   

  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार ७:५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया