युवा संघले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा आबद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालका नेता, कार्यकर्ताले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै रिगल भनिने गुण्डा नाइके योगराज ढकाललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश दिएकाले नैतिकताको आधारमा प्रधानमन्त्री दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजीनामा दिनुपर्ने बताएका हुन् । 

काठमाडौंको बिजुलीबजारबाट नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै संघका अध्यक्ष क्षितिज थेवेले जघन्य अपराधका घटनामा संलग्नलाई आममाफी दिने प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले सामाजिक सद्‌भाव कायम गर्न हिँडेका आफ्ना संगठनका नेता, कार्यकर्तालाई नियन्त्रणमा लिने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

‘आज सर्वोच्चले फैसला गरेर त्यो आममाफी लगत थियो भनेर उनलाई तत्काल नियन्त्रण गर भनेपनि आज कानुनमन्त्रीले, आज गृहमन्त्रीले, प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिने कि नदिने ? हाम्रो प्रश्न यो हो । अनि, आज सुशासन कायम गर्ने भन्ने सामाजिक सुशासनका लागि हिँडेका युवाहरूलाई दिनदहाडै नियन्त्रण गरिन्छ,’ अध्यक्ष देवेले भने, ‘गुण्डागर्दीलाई प्रश्रय दिइन्छ । अराजकता र अवसरवादलाई प्रश्रय दिइन्छ । सामाजिक अराजकतालाई प्रश्रय दिइन्छ । हत्याराहरूलाई प्रश्रय दिइन्छ ।’ 

प्रदर्शनकारीले सरकारले तस्करी, अराजकता र अवसरवादलाई प्रश्रय दिने काम गरेको भन्दै नाराबाजी गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार १८:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया