कोशीमा विश्वासको मत कायमै राखेर एमाले प्रतिपक्षमा बस्ने

कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत नेकपा एमालेले कायमै राख्ने भएको छ । सरकारलाई दिएको विश्वासको मत कायमै राखेर एमाले प्रतिपक्षमा बस्ने भएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलको आज सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा एमालेका तर्फबाट सहभागी भएका मन्त्री फिर्ता भए पनि विश्वासको मत कायमै रहेको बताए । 

संसदीय दलको बैठकमा सहभागी कतिपय सांसदहरूले एमालेको सहयोगमा बनेको सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । प्रमुख सचेतक भण्डारीका अनुसार बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने निर्णय पनि भएको बताए ।

यसैगरी, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकबाट कट्टा हुने गरी राहत सहयोग दिने निर्णय पनि बैठकले गरेको छ । मुख्यमन्त्री बन्न कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई एमालेले समर्थन गरेको थियो। 

कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री कार्कीले माओवादी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री थपेका थिए ।

आफूसँग सल्लाह नगरी गठबन्धन दललाई सरकारमा सहभागी गराएको भन्दै एमाले असन्तुष्ट बनेको थियो । त्यही कारण उसले आफ्ना मन्त्री रानालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्री रानाले राजीनामा दिइसकेका छन् ।



यसैबीच, कोशी प्रदेश सभाको बैठक पनि आजै बस्दै छ ।



  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार १३:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया