logo-img

विश्वकपमा पराजित भएपछि श्रीलंका क्रिकेट बोर्ड बर्खास्त

विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक संकटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । 

श्रीलंकाको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुंगालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ । 

कोलम्बोमा मन्त्री रणसिंघेले भने, ‘पूर्वकप्तान रणतुंगा क्रिकेटलाई पुनर्जीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो ।’ उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीनजना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिए । 
    
रणतुंगाले क्रिकेट पुनर्निर्माणको चुनौती स्वीकार गरेको बताए ‘श्रीलंका क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु,’ उनले भने । 



बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डी सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो । 

गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलंकाको तीन सय दुई रनको हारपछि मन्त्री रणसिंघेले सार्वजनिक रूपमा सम्पूर्ण बोर्डको राजीनामा मागेका थिए । मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलङ्का एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो । यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो । 

उक्त हारपछि सार्वजनिक आक्रोश बढ्यो र शनिबार आक्रोशित विरोध प्रदर्शन भएपछि कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो । 



मन्त्री रणसिंघेले श्रीलंका क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए । उनले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाउँदै भने, ‘उनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ ।’

श्रीलंकाले सोमबार बंगलादेशसँग खेल्दै छ । विश्वकपको अन्तिम चारमा आफ्नो स्थान बनाउन उसलाई गणितीय चमत्कारको आवश्यकता छ । 



  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार १६:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया