कोशी प्रदेशसभाबाट बजेटसम्बन्धी अध्यादेश स्वीकृत

कोशी प्रदेशसभाले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त अध्यादेश स्वीकृत गरेको हो ।

‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ प्रदेशसभाले स्वीकृत गरेको हो ।

उक्त अध्यादेश अस्वीकृत गर्न माग गर्दै यसअघि सत्ता गठबन्धन दलमा आबद्ध सांसदले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । 

उक्त सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएका थिए । सूचना फिर्ता लिएसँगै अध्यादेश स्वीकृत भएको हो ।

प्रदेशसभाको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ । 

प्रदेशसभाको आजैको बैठकले कर्णालीमा भूकम्पमा परी मृत्यु भएकाको शोकमा शोक प्रस्ताव पारित गरेको थियो ।



आजको बैठकको शून्य समयमा बोल्दै सांसदले कोशी प्रदेशसभाका सभामुख चयन प्रक्रिया चाँडै थाल्न आग्रह गरेका थिए ।

यसैगरी सांसदहरूले भूकम्पबाट प्रभावित बनेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा गम्भीर भएर लाग्न पनि आग्रह गरेका थिए ।



शून्य समयमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले आफ्ना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक मंगलबार बस्ने सचिवालयले जनाएको छ ।
 

  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार १९:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया