logo-img

म्याथ्यूज ‘टाइम आउट’ प्रकरण : खेल भावनाविपरीत कि नियमको पालना ?
सेमिफाइनल दौडबाट बाहिरिए चार टिम
तस्बिर : एपी

अहिले भारतमा आइसिसी एकदिवसीय विश्वकप क्रिकेट चलिरहेको छ । प्रतियोगितामा चौका/छक्काको वर्षाका साथै अनौठो दृश्य पनि देख्न पाइएको छ । यसैबीच, सोमबार भएको बंगलादेश र श्रीलंकाबीचको खेलमा पनि यस्तै चकित पार्ने दृश्य देख्न पाइयो ।   

खेलमा श्रीलंकन अनुभवी अलराउन्डर एन्जेलो म्याथ्यूज टाइम आउट भए । योसँगै उनी क्रिकेट इतिहासमा टाइम आउट हुने पहिलो खेलाडी बने । दुई मिनेटभित्र ब्याटिङ गर्न तयार हुन नसकेपछि म्याथ्यूज टाइम आउट भएका हुन् । 



क्रिकेटको नियमअनुसार एक ब्याटर आउट भएपछि नयाँ ब्याटरले तीन मिनेटभित्रमा अर्को बल खेल्न तयार भइसक्नुपर्छ । विश्वकपमा यो नियम दुई मिनेटमा सीमित गरिएको छ । जसअनुसार म्याथ्यूज टाइम आउटको सिकार हुन पुगे । उनी टाइम आउट हुने/नहुने विपक्षी टोलीमा पनि निर्भर हुन्छ । यदि विपक्षी टिमले अपिल फिर्ता लिएमा खेलाडी टाइम आउट हुनबाट जोगिन्छन् । 

श्रीलंकाविरुद्धको खेलमा बंगलादेशी कप्तान शाकिवअल हसनले अम्पायरसँग अपिल गर्दै म्याथ्यूजलाई टाइम आउट गर्न अनुरोध गरे । अम्पायरले पछि उनलाई अपिल फिर्ता लिनसक्ने नियमबारे पनि स्मरण गराए । तर, शाकिबले भने अपिल फिर्ता लिएनन् ।



फलस्वरूप म्याथ्यूज क्रिकेट इतिहासमा टाइम आउट हुने पहिलो खेलाडी बन्न पुगे । खेल भावना नदेखाएको भन्दै धेरै समर्थक र विश्लेषकले शाकिवको चर्को आलोचना गरेका छन् । यद्यपि केही समर्थकले भने म्याथ्यूज नियमअनुसार नै आउट भएको भन्दै शाकिवको समर्थन गरिरहेका छन् ।

म्याथ्यूज टाइम आउट भएको खेल बंगलादेशले तीन विकेटले जित्यो । उसले विश्वकप इतिहासमा पहिलोपटक श्रीलंकाविरुद्ध जित निकालेको हो । यस खेल अवधिभर श्रीलंका र बंगलादेशका खेलाडीबीच पटकपटक विवाद देख्न पाइयो । खेलमा म्याथ्यूजले शाकिवलाई ८२ रनमा आउट गरे । आउटलगत्तै उनले शाकिबलाई घडीको इशारासमेत गरेका थिए ।



साथै, म्याथ्यूजले नजिमुल हुसेन सान्तोलाई ९० रनमा पवेलियनको दिशा देखाए । ​म्याथ्यूजलाई टाइम आउट गर्नमा सान्तोको भूमिका पनि अहम् रह्यो । उनले शाविकलाई म्याथ्यूजविरुद्ध टाइम आउटको अपिल गर्न पटकपटक आग्रह गरेका थिए । अनौठो दृश्य देख्न पाइएको यस खेलको पराजयपछि श्रीलंका पनि विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ ।

बंगलादेशसँगै इंग्ल्याण्ड र नेदरल्याण्ड्स भने यसअघि नै सेमिफाइनल प्रतिस्पर्धाबाट आउट भइसकेका थिए । अहिलेसम्म विश्वकपमा भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा गरेका छन् । अब सेमिफाइनलको दुई स्थानका लागि अस्ट्रेलिया, न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धामा छन् । 

  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १०:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया