logo-img

कर्णाली सरकारले भूकम्प प्रभावित पालिकालाई हस्तान्तरण गर्‍यो २ करोड रुपैयाँ

कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई २ करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशेमा गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई १० लाख र शिवालय गाउँपालिकालाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

त्यसैगरी, रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई २५/२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई  २०÷२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख र बाँफीकोट गाउँपालिकालाई ५ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताए । उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई ५/५ लाख हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए ।

यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रविन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार ७:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया