राज्यले बिर्सिनै नसक्ने गरी र अन्तर्राष्ट्रिय समुदायलाई पनि जानकारी हुने गरी काम गर्दै छौँ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रमा राज्यले बिर्सिनै नसक्ने गरी साथै अन्तर्राष्ट्रिय समुदायलाई पनि जानकारी हुने गरी कार्यक्रम आयोजना गर्ने बताएका छन् ।

स्वास्थ्य क्षेत्रमा के भइरहेको छ, के गर्नुपर्ने हो, समस्या र चुनौती कस्ता हुन् र कसरी अघि बढ्ने भन्ने सन्दर्भमा  सबै पक्षलाई समेटेर कार्यक्रम आयोजना गर्ने उनको भनाइ छ ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा संलग्न सरकार, विभिन्न अन्तर्राष्ट्रिय दाता, संघ संस्थादेखि नीति निर्मातासम्मलाई एउटै मञ्चमा ल्याएर स्वास्थ्य क्षेत्रको अवस्था र भविष्यको निकास निकाल्ने गरी विश्व स्वास्थ्य सेवा दिवसको दिन दशरथ रंगशालामा ठूलो कार्यक्रमको आयोजना गर्ने बताए ।

‘नेपाल राष्ट्रले सधैंभरि सम्झने मात्र होइन अन्तर्राष्ट्रिय डोनर, पार्टनर्स, संघसंस्था र हाम्रो स्वास्थ्य क्षेत्रमा काम गर्नेले मात्र होइन अरू क्षेत्रमा काम गर्नेले पनि सिक्नुपर्छ भन्ने किसिमले हामी विश्व स्वास्थ्य सेवा दिवसको दिन दशरथ रंगशालामा कार्यक्रम गर्नेछौँ’, मन्त्री बस्नेतले भने, ‘त्यो कार्यक्रम भनेको यो क्षेत्रमा काम गर्ने सबै विकास साझेदार र नगर गाउँपालिकाका प्रतिनिधित्व गराउने, संवैधानिक क्षेत्र, राष्ट्र प्रमुखलाई एकै ठाउँमा ल्याएर स्वास्थ्य क्षेत्रमा के भइरहेको छ, के गर्नु पर्ने हो,के कमी छ र कसरी काम गर्न सक्छौ भन्ने कुरा समेत पुरै देश र अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी हुने गरी हामी काम गर्छौ ।’

उनले स्वास्थ्य शिक्षाको क्षेत्रमा जति राम्रो र धेरै काम गर्‍यो उति नै आफूप्रति गाली बढ्दै गएको गुनासो पनि उनले गरे ।

उनले समाजमा राम्रो काम देख्न नचाहनेहरू रहेका र उनीहरूबाट गाली धेरै आउने गरेको टिप्पणी गरे । उनले आफूले मन्त्रालयमा आएपछि स्वास्थ्य शिक्षा क्षेत्रमा राम्रा काम गरेका र योगदान पुर्‍याएका कर्मचारीलाई कार्यक्रम आयोजना गरेर सम्मान गरेको स्मरण गर्दै आवश्यकताअनुसार समाजमा राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्ने धारणा राखे । 



आफूले मन्त्रालय सम्हालेपछि स्वास्थ्य क्षेत्र र मन्त्रालयको धेरै समस्यालाई समाधान गरेको जिकिर गर्दै उनले स्वास्थ्य शिक्षाको क्षेत्रमा सके जति काम आफूहरूले गरिरहेको बताए ।  



  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १४:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया