logo-img

नर्सिङ कलेज सञ्चालकको धन्दा : मापदण्ड पूरा नगर्ने, अफवाह फैलाउने

केही समययता चलेको एउटा हल्लाले नेपालको मेडिकल शिक्षा क्षेत्रमा तरंग पैदा गरेको छ । हल्ला हो, नेपाली विद्यार्थी नर्सिङ पढ्न भारततिर जाँदै छन् भन्ने । नर्सिङ पढ्नका लागि विद्यार्थीहरू भारत गइरहेको भन्ने विषय सडकदेखि सदनसम्म जोडतोडका साथ उठ्दै आएको छ । 

कतिपयले यो विषय हल्ला मात्रै भएको दाबी गरेका छन् भने केहीले नेपालमा नर्सिङ कोटा कम भएकाले विद्यार्थीहरूले भारतलाई प्रमुख गन्तव्य बनाइरहेको ठोकुवा नै गरेका छन् । यसबारे तथ्य पत्ता लगाउन हामीले केही सरोकारवाला निकायसँग सम्पर्क गर्यौं । बिडम्वना ! बिदेसिएका नर्सको यकिन तथ्यांक सरकारका कुनै पनि निकायसँग छैन । सरकारसँग नै यकिन तथ्यांक नहुँदा नर्सिङ अध्ययनका लागि विद्यार्थी भारत गएको विषयमा सबैले आफूखुसी तर्क दिइरहेका छन् । 

किन बन्द भए नर्सिङ कलेज ? 



राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयन भएदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत सञ्चालित प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका एक सय ३७ वटा शिक्षण संस्था बन्द भएका छन् । 

यस्तै, स्टाफ नर्स ७३ वटा, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बिएन १० र बिएससी नर्सिङ स्नातक तहमा स्वास्थ्य विज्ञानका सबै कार्यक्रममा आठ गरी जम्मा दुई सय २८ शिक्षण संस्था बन्द भएका छन् । बन्द हुनुको एउटै कारण हो, चिकित्सा शिक्षा ऐन, २०७५ मा उल्लेखित नियम । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कोे नियमावलीले तोकेको मापदण्डभित्र नपरेका नर्सिङ कलेजहरू बन्द हुन पुगेको कलेजका सञ्चालक तथा आयोग दुवैले बताइरहेका छन् । नियमावलीले ऐनको मर्मअनुसार चिकित्सा शिक्षामा गुणस्तर कायम गर्ने गरी क्षेत्रीय रूपमा सबैतिर चिकित्सा शिक्षाका संस्था र सेवाहरू विस्तार गर्ने उद्देश्य राखेको आयोगले जनाइरहेको छ । 



‘उक्त नियमावलीले नर्सिङ कार्यक्रम सञ्चालन गर्न एक सय बेडको अस्पताल हुनु अनिवार्य गरेको छ । अस्पताल छैन भने नर्सिङ कलेज सञ्चालन गर्न पाइँदैन । त्यसबाहेक पिसिएल र स्नातक तहको नर्सिङ कार्यक्रम एउटै संस्थामा सञ्चालन गर्न पनि नपाइने नियम छ,’ चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी धनबहादुर श्रेष्ठले भने, ‘यही नियमको कारण शिक्षण संस्था बन्द भएका हुन् । यसबाहेक अरू कुनै कारणले असर परेको हो भने त्यो आयोगको जानकारीमा छैन ।’

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ मा स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयले दुई वर्षभित्र एकसय बेडको आफ्नै अस्पताल चाहिने व्यवस्था गरेको छ । यही दुई वर्षभित्रमा मापदण्ड पूरा गर्न नसकेको भन्दै चिकित्सा शिक्षा आयोगले भर्नाको लागि सिट नदिँदा नर्सिङ कलेज बन्द भए । यसैलाई आधार बनाएर नेपालका नर्सिङ कलेज सञ्चालकले नर्सिङ अध्ययनका लागि नेपाली विद्यार्थी भारत पुगेकोे दाबी गरिरहेका छन् । जसलाई स्वास्थ्य क्षेत्र सुधार गर्न वर्षौंदेखि प्रयत्न गरिरहका सरोकारवालाले हौवाको संज्ञा दिएका छन् । 



नर्सिङ शिक्षाका नाममा विकृति बढेपछि विद्यार्थीको अभ्यासका लागि कलेजको आफ्नै अस्पताल हुनुपर्ने कानुनी व्यवस्था गरिएको नर्सिङ संघ नेपालकी अध्यक्ष मनकुमारी राई बताउँछिन् । नियममा चल्न नसक्ने शिक्षण संस्था बन्द हुँदा दोष जति चिकित्सा शिक्षा ऐनलाई थुपारिएको उनको भनाइ छ । 

‘कलेज सञ्चालकले मापदण्ड पुर्याउन नमान्दा कलेजहरू बन्द हुन पुगेको हो’, उनी भन्छिन, ‘नर्सिङ शिक्षा नितान्त प्राविधिक हो । त्यसैले विद्यार्थीले पर्याप्त रूपमा अभ्यास गर्न पाउनुपर्छ । अभ्यास गर्न नपाएका नर्सले पढेको कुरा व्यवहारमा उतार्न सक्दैनन् ।’ स्तरीय नर्स उत्पादनका लागि ऐनमा अहिले गरिएको व्यवस्था सही भएको उनको भनाइ छ । 

‘कलेज सञ्चालकहरूले आफ्नो व्यापार मात्र हेरेर हुँदैन । आफूले उत्पादन गरेका जनशक्तिको क्षमता पनि हेर्नुपर्यो नि !’ उनले भनिन्, ‘अस्पतालले नर्सलाई सकेसम्म स्वयंसेवा गराउने र तलब ५–७ हजारभन्दा दिन नमान्ने स्थिति किन आयो भन्ने बारेमा पनि सञ्चालकहरू गम्भीर हुन आवश्यक छ ।’ नर्सिङ कलेज सञ्चालकहरूको ध्यान नर्स उत्पादन र व्यापारतिर मात्र गएको, तर गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा नरहेको उनको तर्क छ ।

हल्लैहल्लाकाे देश 

नर्सिङको प्रमाणपत्र तहका लागि नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र नेपाल नर्सिङ काउन्सिलको अनुमति पाएका संस्था मात्रै योग्य हुन्छन् । हालसम्मको व्यवस्थाअनुसार नेपालबाहिर कुनै पनि देशका संस्थासित त्यस्तो अनुमति छैन । त्यसैले भारतका कुनै पनि संस्थामा पुगेर नर्सिङ पढ्ने र फर्केर नेपालमा नर्सिङ प्राक्टिस गर्ने वैध बाटो छैन नभएको डा. जीवन क्षेत्री बताउँछन् । 

उनका अनुसार कसैले छिटपुट अमान्य डिग्री लिएर आउँछ भने त्यो व्यक्तिको समस्या हो, प्रणालीको होइन । ‘त्यसबाहेक हामीकहाँ १० कक्षा पढेर स्टाफ नर्स पढ्न खोज्ने विद्यार्थीहरू भारत गएर उस्तै कोर्स पढेर आए भन्ने कुरा पनि निराधार छ,’ डा. क्षेत्रीले भने, ‘किनभने, भारतीय नर्सिङ काउन्सिलको वेबसाइटमा उल्लिखित सर्तअनुसार त्यहाँको एएनएम र जिएनएमजस्ता आधारभूत नर्सिङका कोर्स गर्न न्यूनतम १० जोड २ को योग्यता हुनुपर्छ । अनि कसरी नेपालमा एसइई पास गरेका विद्यार्थी नर्सिङ पढ्न भारत गए ?’

स्नातक तहको नर्सिङ शिक्षाका लागि भारतलगायत कुनै पनि अर्को देशमा जानका लागि शिक्षा मन्त्रालयबाट एनओसी अनिवार्य लिनुपर्ने प्रावधान छ । चिकित्सा शिक्षा आयोगको तथ्यांकअनुसार अघिल्लो वर्ष बिएससी नर्सिङका लागि एनओसी लिनेको संख्या जम्मा ८२ थियो ।

यो वर्ष स्वास्थ्य शिक्षाका सबै कोर्सका लागि एनओसी लिने जम्मा एक हजार एक सय छन् । जसमध्ये पाँच सय हाराहारीले एमबिबिएसका लागि लिएका हुन् । बाँकी ६ सय मा नर्सिङलगायत सबै कोर्सका स्नातक वा त्यसमाथिका छात्रवृत्तिका विद्यार्थी पर्ने आयोगले जनाएको छ । एनओसी लिएका सबै विद्यार्थी विदेश जान्छन् नै भन्ने पनि नहुने आयोगले जनाएको छ । 

भारतले सिमानामा धमाधम नेपालीलाई स्टाफ नर्स पढायो भन्नेहरूले ‘बैंगलोरमा टहरामा जथाभावी कलेज खोल्नेहरूले ठूलो संख्यामा बिएससी नर्सिङ पढ्न नेपाली विद्यार्थी लिएर गए किनभने यता सिटै छैनन्’ समेत भन्ने गरेको पाइन्छ । के विद्यार्थीहरू सिटै नभएर नर्सिङ पढ्न भारततिर लागेका हुन् त ? यसको उत्तर आयोगले उपलब्ध गराएको तथ्यांकले भने ‘होइन’ भन्ने दर्साउँछ ।

चिकित्सा शिक्षा आयोगको तथ्यांकअनुसार अघिल्लो वर्ष मात्रै नेपालमा तोकिएका बिएनएस कोर्सका एक हजार तीन सय सिटमध्ये ६ सय खाली गएका थिए । त्यस्तै, बिएससी नर्सिङका एक हजार पाँच सय मध्ये तीन सय सिट खाली गए । नर्सिङबाहेक बिपिएच कोर्समा मात्रै ६ सयभन्दा बढी सिट खाली गएका थिए । त्यसो भए नेपालमा सिटै नभएर अध्ययनका लागि नर्सहरू बिदेसिएका हुन् त ? फरकधारको प्रश्नमा डा. जगदीश अग्रवाल भन्छन्, ‘मेडिकल शिक्षामा व्यापारीकरण रोक्न खोज्दा हावादारी कुरा फैलाइयो ।’

‘चिकित्सा शिक्षा ऐन आएकै मेडिकल शिक्षामा व्यापार गर्न खोज्नेहरूलाई नियन्त्रण गर्नका लागि हो । नर्सिङ कलेजहरू बन्द भए भनिन्छ, किन बन्द भए ? त्यसको पनि कारण छ, किनभने नियममा भनेबमोजिम कलेज सञ्चालकले व्यवहारमा लागू गर्न सकेनन्,’ डा. अग्रवाल भन्छन्, ‘चिकित्सा शिक्षा ऐनले गुणस्तरीय नर्स उत्पादन गर भन्दा किन टाउको दुखाइको विषय बनिरहेको छ । अस्पतालविनाको शिक्षण संस्था खोलेर आर्थिक फाइदाबाहेक अरू केही हुँदैन । नर्सहरूको हातमा प्रमाणपत्र मात्र भएर हुँदैन । अनुभव पनि हुन आवश्यक छ ।’ सडकदेखि सदनसम्म जुन हल्ला फैलाइएको छ, त्यो सबै झुटो भएको उनको दाबी छ । 

‘चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ अध्यापन गराउने कलेज बन्द भएका भए कानुनी सहायता लिन सकिन्छ । नर्सिङ कलेज सञ्चालकहरू ४०–५० जना नर्स पढाउनका कहाँ अस्पताल बनाउने, यसमा त हाम्रो लागत नै उठ्दैन भन्छन्,’ डा. अग्रवाल भन्छन्, ‘लागत उठ्दैन भने किन कलेज सञ्चालन गर्नुपर्यो ? जसको लागत उठ्छ, जसले अस्पताल बनाउन सक्छ, उसले पढाउने हो । जसले अस्पताल बनाउन सकेनन्, उनीहरूको नर्सिङ कलेज बन्द भए ।’ 

‘भारतमा एक अर्ब ३० करोड जनसंख्या छ । भारतलाई देशमा नर्सको संख्या कम रहेको भान भयो । त्यसकारण जहाँजहाँ मेडिकल कलेज छ, त्यहाँ नर्सिङको पढाइको काम सुरु गरेको हो । भारतले आफ्नो नीतिअनुसार आफ्ना लागि खोलेको हो’, डा. अग्रवाल भन्छन्, ‘पैसा भएको व्यक्ति बढीमा बैङलोरसम्म पढ्न गएको होला, त्यो पनि एकाध होलान् । तर, नेपालमा नर्सिङ पढ्न पाइँदैन भन्नु गलत हो । पढ्न पाइँदैन भने नर्सिङ पढ्न सिट कसरी खाली रहे ?’ यसका साथै भारतमा खोलिएका नर्सिङ कलेजहरू नेपाली विद्यार्थीका लागि नभएको उनको तर्क छ ।

स्वास्थ्य भनेको मानिसको जीवन र मरणसँग सम्बन्धित गम्भीर कुरा हो । यस्तो गम्भीर कुरालाई हचुवाका भरमा जहाँतहीँ फैलाइएको छ । ‘हचुवाका भरमा भारतमा नेपाली विद्यार्थी नर्सिङ पढ्न गए भनेर भनिएको छ । क–कसको मुख बन्द गर्न जानु ? समाज फेरि हौवाको पछि दौडिन्छ । भारतमा कति विद्यार्थीले नर्सिङ गरिरहेका छन् ? कसैसँग यकिन तथ्यांक छैन’, डा. अग्रवालले भने । 

सीमा क्षेत्रमा नेपालीकै लागि खुलेका हुन् त नर्सिङ कलेज ? 

भारतमा सन् २०१४ मा तीन सय ३७ वटा मेडिकल कलेज रहेकोमा सन् २०२३ मा सो संख्या बढेर ६ सय ६० पुगिसक्दा नर्सिङ कलेजहरू भने सो अनुपातमा थप भएनन् । त्यसैले गत अप्रिल महिनामा पारित भारतको बजेट (२०२३–२४)मा, सन् २०१४ देखि स्थापना भएका एक सय ५७ मेडिकल कलेजसँगै सोही स्थानमा एक सय ५७ नयाँ नर्सिङ कलेज स्थापना गरिने उल्लेख छ ।

भारत सरकारले नर्सिङ कलेज थप गर्ने सोही प्रयोजनका लागि प्रतिकलेज १० करोड बजेट विनियोजन समेत गरेको छ । साथै केन्द्र सरकारले राज्यहरूलाई नर्सिङ कलेजहरू खोल्ने नयाँ योजनाको साथ क्षेत्रीय असमानता सच्याउन निर्देशन दिएको छ । 

यी नेपालको सीमा क्षेत्रमा खुलेको नभई भारतभरका विभिन्न मेडिकल कलेजमा खुलेको सरोकारवाला बताउँछन् । यही समाचारलाई नेपालमा तोडमरोड गरी आफ्नो अनुकूल विभिन्न स्वार्थ समूहले प्रचारत गर्दै आएको पाइन्छ ।

  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार १९:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया