logo-img

स्वाँत खोलामा पुल बनेपछि स्थानीय हर्षित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को शिखस्थित स्वाँत खोलामा ३४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । शिखको निरवाङ र किन्दु जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटको यात्रा अवधि २० मिनेटमा छोटिएको छ ।

अन्नपूर्ण गाउँपालिका-५ घिरवाङका बासिन्दा अर्जुन चोचाङ्गीले पुल बनेपछि जंगल, भिर र खोल्साको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता हटेको र यात्रा अवधि पनि छोटिएको बताए ।

उनले भने, ‘किन्दु, धोस्केखोरका बासिन्दालाई माध्यमिक विद्यालय र वडा कार्यालय रहेको शिख पुुग्न स्वाँत खोलाको घुुमाउरो बाटो प्रयोग गर्दा ४५ मिनेट लाग्ने गरेको थियो । पुल बनेपछि यात्रा अवधि २० मिनेटमा छोटिएको छ ।’

पुलबाट शिख, किन्दुु, धोस्केखोरीया, घिरवाङ र पाउद्वारका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका अन्नपूर्ण गाउँपालिका-५ का वडाअध्यक्ष राजेश तिलिजाले बताए ।

उनले भने, ‘संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ३४४‍.८ मिटर लामो र एक सय ४० मिटर भन्दा अग्लो झोलुङ्गे पुल ठेक्कामार्फत करिब डेढ करोडको लागतमा निर्माण गरेको हो । गत वैशाखदेखि सुरु भएको पुल निर्माण कार्य सकिएपछि यसै महिनादेखि प्रयोगमा आएको हो ।’

पुल बनेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई सहज भएको निरवाङका ८० वर्षीय कुलबहादुर पुर्जाले बताए । उनले भने, ‘गाडीले निरवाङको छेउमा ल्याउने सामान किन्दुका बासिन्दाले बोकेर गाउँमा लैजान्छन । गाडी चढ्न पनि पुल तरेर यही आउँछन् । पुल हेर्न वरपरका गाउँबाट दैनिकजसो मानिस आइरहेका छन् ।’



शिखदेखि ढाडखर्क, खोपारा जाने र आउने पर्यटकलाई पनि आवतजावत गर्न सहज भएको छ । किन्दु, धोस्केखोरका बासिन्दाले उत्पादन गरेको आलु, सिमी बजार पढाउन पुलले सजिलो बनाएको छ । यो अन्नपूर्ण गाउँपालिकाको सबैभन्दा लामो पुल भएको वडाअध्यक्ष तिलिजाले बताए ।

म्याग्दीमा शिखको स्वाँत खोलासहित तीन सय मिटरभन्दा लामो चार वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।



यसअघि रघुगंगा गाउँपालिका-१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलव ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धौलागिरि गाउँपालिका-६ रिख जोड्ने तीन सय ५० मिटर र बेनी नगरपालिका-१ रत्नेचौर र बागलुङ नगरपालिका-४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएका थिए ।

  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार १२:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया