नेपाललाई तेस्रो रजत दिलाउने खेलाडी सम्मानित

चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएकी छिन् ।​एसएस फाउन्डेसनद्वारा आज यहाँ आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई सम्मान गरिएको हो ।

सम्मानस्वरूप उनले ३१ हजार रूपैयाँ पुरस्कार प्राप्त गरिन् । एरिकाले गत असोजमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ६८ केजी तौल समूहमा नेपाललाई रजतपदक दिलाएकी थिइन् ।

​एशियाली खेलकुदको इतिहासमा नेपालका लागि एरिकाले तेस्रोपटक रजतपदक दिलाएकी हुन् । त्यस्तै एशियाली खेलकुदमा नेपालले कराँते खेलमा भने पहिलो रजतपदक जितेको थियो ।

यसअघि तेक्वान्दो खेलबाट सविता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजतपदक जितेको थियो । एरिकाले मेहनत गरे सफलता हासिल गर्न सकिन्छ भन्ने मनोबलले यो पदक दिलाएको भन्दै यस किसिमको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताइन् ।

उनले आगामी दिनमा खेल क्षेत्रमा अझ उत्कृष्ट खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । कार्यक्रममा कराते खेलका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ पनि सम्मानित भएका छन्  । सम्मानस्वरूप उनले पनि ३१ हजार रूपैयाँ प्राप्त गरेका छन्  । उनले नेपाली खेलाडीको रगतमा साहस र वीरताको प्रतिक रहेको भन्दै मार्सल आर्ट खेलले सफलता भित्र्याउँदै आएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद पशुपति शम्शेर जबराले आम नेपाली जनतालाई तिहार र छठको शुभकामना दिँदै नेपालले अन्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न नसके पनि खेलकुद क्षेत्रमा सफलता हासिल गरेकामा खुसी व्यक्त गरे । उनले नेपालकी १९ वर्षीया एरिकाले सानै उमेरमा यस किसिमको सफलता पाउनु गर्विलो विषय भएको बताए ।





  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार १४:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया