logo-img

रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो

जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकिएको छ । भूकम्प गएको भोलिपल्ट नै उद्धार सकिए पनि पहिलो चरणको राहत वितरण भने दुई सातापछि हिजो शुक्रबार मात्रै पूरा भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए । 

भूकम्पबाट प्रभावित जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित परिवारलाई त्रिपाल, कम्बल, सिरक, म्याट, चामल, दाल, नुन, तेललगायतका राहत सामग्री वितरण गरिएको उनले बताए । उनका अनुसार मानवीय क्षति तथा भौतिक संरचनामा कम क्षति भएका मुसीकोट र चौरजहारी नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा पनि पहिलो चरणमा राहत वितरण सकिएको छ । अब स्थानीय तहबाट क्षतिको पूर्ण विवरण प्राप्त भएपछि विपद् व्यवस्थापन समितिको बैठकले गर्ने निर्णयअनुसार अस्थायी आवास निर्माण सुरु गरिने उनको भनाइ छ । 

‘अबको आवश्यकता भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित ठाउँमा स्थानान्तरण हो । सोही अनुसार काम गर्छौं,’ उनले भने । उनका अनुसार स्थानीय तहलाई कार्यालयले भनेअनुसारको ढाँचामा क्षतिको विवरण संकलन गरी पठाउन निर्देशन दिइसकिएको छ । केही व्यक्ति तथा संस्थाले आफ्नै पहलमा आठबिसकोट र चौरजहरी नगरपलिकामा अस्थायी टहरा निर्माण सुरु गरिसकेका छन् ।​



मृतकका परिवारलाई नगद वितरण

भूकम्पमा ज्यान गुमाएका रुकुम पश्चिमका मृतकका परिवारलाई नगद वितरण गरिएको छ । सानीभेरी गाउँपालिकाका १० जना मृतकका परिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका मृतकका ३७ जना मृतकका परिवारलाई ६१ लाख गरी कूल ७७ लाख नगद वितरण गरिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । बाँकीलाई कागजपत्र मिलेपछि राहत वितरण गरिने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार संघीय सरकारबाट प्राप्त रकमबाट मृतकका परिवारलाई नगद वितरण गरिएको हो । सरकारले प्रति मृतकका घरपरिवारलाई दुई लाखका दरले र एउटै घरमा एक जनाभन्दा बढीको मृत्यु भएकामा दुई लाख र थप एक लाखका दरले नगद उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच करोड रकम पठाएको थियो । जसमा ६७ लाख नगद राहत वितरण गरिएको छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण र पुनःस्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । 



रुकुम पश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो ।



  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार २२:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया