logo-img

विश्वकप फाइनल : फेरि दबाबमा भारत, कोहली ५४ रनमा आउट

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा  अष्ट्रेलियाविरुद्ध भारतले चौथो विकेट गुमाएको छ । उसले चौथो विकेटको रूपमा विराट कोहलीलाई ५४ रनमा गुमाएको हो । उनलाई कप्तान प्याट कमिन्सले बोल्ड गरे । 

कोहलीले ५६ बलमा चार चौकासहित अर्धशतक पूरा गरेका थिए । यो विश्वकपमा कोहलीको यो पाचौं अर्धशतक हो । भारतले १ सय रन नजोड्दै तीन विकेट गुमाएपछि कोहली र केएल राहुलले पारी सम्हाले । भारतले तेस्रो विकेटको रूपमा श्रेयस अय्यरलाई गुमायो । उनलाई प्याट कमिन्सले ४ रनमै आउट गरे ।

भारतले दोस्रो विकेटको रूपमा कप्तान रोहित शर्मालाई गुमायो । उनलाई ग्लेन म्याक्सवेलले ४७ रनमा क्याच आउट गरे । अर्का ओपनर शुभमन गिल मिचेल स्टार्कको बलमा ४ रनमै क्याच आउट भए । 



अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले यो समाचार तयार पार्दा २९ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको छ । भारत अपराजित रहँदै तेस्रोपटक उपाधि जित्ने योजनामा छ। यसअघि उसले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो। 

भारत आज उच्च लय र घरेलु मैदानको फाइदा उठाउँदै १२ वर्षपछि विश्वकप ट्रफी चुम्न चाहन्छ। यद्यपि घरेलु टिम भएकाले भारतमाथि उपाधि जित्नुपर्ने दबाब बढी छ। ऊ पछिल्लोपटक आइसिसीको ठूलो प्रतियोगिताको फाइनलमा चुक्दै आएको छ। यसले पनि भारतीय टिमलाई दबाब बढी रहेको आकलन गर्न सकिन्छ । यता अष्ट्रेलिया फाइनलमा खुलेर खेल्ने देखिन्छ। तुलनात्मकरूपमा भारतभन्दा अष्ट्रेलिया टिममाथि कम दबाब हुनेछ। 

कीर्तिमानी अष्ट्रेलिया आज भारतलाई स्तब्ध पार्दै छैटौंपटक विश्व च्याम्पियन बन्ने दाउमा छ। यसअघि उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो। जारी विश्वकपको समूह चरणमा भारतसँग अष्ट्रेलिया ६ विकेटले पराजित भएको थियो। ऊ सो हारको बदला फाइनलमा लिन चाहन्छ। 



विश्वकपमा हालसम्म भारत र अष्ट्रेलियाले १३ खेलमा एकार्काको सामना गरेका छन्। जसमा अष्ट्रेलिया हाबी देखिन्छ। उसले विश्वकपको १३ भेटमा भारतलाई ८ खेलमा हराएको विगत छ। समग्र ओडिआई हेड टु हेडको नतिजा हेर्दा पनि अष्ट्रेलिया अगाडि छ। 

अष्ट्रेलिया र भारतले हालसम्म १५० एकदिवसीय खेलमा एकाअर्कासँग खेलेका छन्। जसमा अष्ट्रेलियाले ८३ तथा भारतले ५७ खेलमा जित निकालेको छ। यी दुई टिमबीचको १० खेल भने नतिजाविहीन रह्यो। 



१३औं संस्करणको विश्वकपमा भारतले अलराउन्ड प्रदर्शन गरिरहेको छ। विशेषगरी विराट कोहली, रोहित शर्मा, श्रेयस अय्यर, मोहम्मद शामी र जसप्रीत बुमराह उच्च लयमा छन्। यता अष्ट्रेलियाको टिमका लागि जारी विश्वकपमा डेविड वार्नर, ग्लेन म्याक्सवेल, मिचेल मार्स र एडम जाम्पाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। दुवै टिम सानदार लयमा रहेकाले विश्वकप फाइनल प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ। 

यसपटक भारतले उपाधि जित्ने धेरैको अनुमान छ। यद्यपि विगत हेर्दा भारत फाइनलमा अष्ट्रेलियासँग चुकेको छ। ऊ सन् २००३ को विश्वकप फाइनलमा अष्ट्रेलियासँग १२५ रनले पराजित भएको थियो।

  • प्रकाशित मिति : मंसिर ३, २०८० आइतबार १६:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया