logo-img

जाजरकाेटमा जाडाे अत्यधिक, निमोनियाको जोखिममा भूकम्पपीडित

हिउँदे मौसम सुरु भएसँगै भूकम्पप्रभावित क्षेत्रका बासिन्दाको जनजीवन थप कष्टकर बन्दै गइरहेको छ । गत कात्तिक १७ गते जाजरकोट र रुकुममा गएको भूकम्पमा ठूलै धनजनको क्षति भएको छ । 

भूकम्प क्षतिग्रस्त स्थानमा प्रायः अधिकांश बासिन्दाको त्रिपालमुनि बास छ । भूकम्पले घर क्षतिग्रस्त भएपछि भूकम्पपीडितहरू विगत १८ दिनदेखि त्रिपालमुनि बस्दै आएका छन् । प्रकृतिले दिएको दुःखमा मल्हम लगाउन नपाउँदै उनीहरुमाथि प्रकृतिको बदलिँदो स्वरूपले थप पीडा दिइरहेको छ । 

१८ दिनदेखि त्रिपालमा बसोबास गर्दै आइरहेका भूकम्पपीडितलाई चिसोले सताउन थालेको छ । भूकम्पपछि त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको भेरी नगरपालिकाकी उपमेयर सीता जैशीले जानकारी दिइन् । 



उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा धेरैजनाको बसाइ खुला आकाशमुनि छ । चिसो बिस्तारै बढेसँगै अत्यधिक शीत परिरहेकाले त्रिपालले पनि उनीहरूलाई चिसोबाट बचाउन सकिएको छैन । ‘हामीले तत्काल उद्धार कार्यलाई प्राथमिकतामा राख्यौँ । त्यससँगै राहतको प्रक्रियामा रासन, त्रिपाल दिइएको थियो । तर, बिस्तारै चिसो बढ्दै गर्दा पुनःनिमार्णतर्फ ध्यान दिन आवश्यक छ । त्यसैले अहिले पुनःनिमार्णका कामलाई जोड दिने योजना बनाइरहेका छौँ,’ उपमेयर जैशीले भनिन् । 

‘चिसो बढ्दै जाँदा निमोनियाका बिरामी बढ्ने एकदमै बढी जोखिम छ । विशेषगरी बालबालिका, गर्भवती महिला, शिशु र वृद्धवृद्धालाई निमोनियाको जोखिम छ,’ उनले भनिन्, ‘भूकम्पको मानसिक त्रास रहेका प्रभावित क्षेत्रका बासन्दामा चिसोले थप समस्या पैदा गरेको अवस्था छ । यस समस्यालाई सक्दो चाँडो समाधान गर्नतिर अग्रसर हुन आवश्यक छ । जसका लागि पालिका, संघ, प्रदेशले हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ ।’

उपमेयर जैशीले पछिल्लो एक साताको अवधिमा १० जनाको मृत्यु भएको बताइन् । भूकम्पपछि चिसोका कारण मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालीका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट–६ ताँसीका ५५ वर्षीय वीर कहादुर विक, जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरीनगरपालीका वडा नं ४ तल्याउनका केशव भडेल छन् । मृत्यु हुने अधिकांश दीर्घरोगी थिए । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भूकम्पप्रभावित क्षेत्रमा शारीरिक तथा मानसिक रूपमा देखिएका स्वास्थ्य समस्या समाधानका लागि सरकारी तवरबाट काम भइरहेको जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयले पुनः प्रदेश र स्थानीय तहसँग समन्वय गरी भूकम्पप्रभावित प्रत्येक पालिकामा पुग्ने गरी सर्भिलेन्स र स्वास्थ्यसम्बन्धी चेतना जगाउन जनशक्ति खटाउन लागिएको छ,’ प्रवक्ता डा. बुढाथोकीले भने । 

संक्रमणजन्य रोग तथा चिसोबाट लाग्ने रोगहरूबाट जोगिन जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहका स्वास्थ्यकर्मी स्वयंसेविका, प्रदेश र केन्द्रका स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा खटिरहेको उनको भनाइ छ ।



भूकम्पका कारण एक सय ५३ जनाको मृत्यु भएको छ । साथै, ३ सयभन्दा बढी नागरिक घाइते भएका छन् । यस्तै, जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ६६ हजारभन्दा बढी परिवार भूकम्पपछि त्रिपालमुनि बस्न बाध्य छन् ।

१७ कात्तिकमा जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले पनि भूकम्प प्रभावित क्षेत्रका जनतालाई निमोनियाको जोखिम रहेको बताउँदै सक्दोचाँडो पुनः निमार्णतिर ध्यान दिनुपर्ने जनाएका छन् । 

‘चिसो अत्यधिक बढिरहेको छ । त्रिपालको भरोसामा मात्र बस्ने अवस्था छैन । त्यसैले सबै सरोकार निकायबाट पुनः निमार्णका कार्यको थालनी गर्न आवश्यक छ,’ उनले भने ।

  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १९:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया