‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौँ,  अर्थतन्त्र सुधार हुँदै छ : अर्थमन्त्री महत
फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताउनुभएको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिए ।

‘विश्वकै अर्थतन्त्रमा शिथिलता छ, त्यो शिथिलता हामीले पनि भोग्यौँ, आन्तरिक र बाह्य कारणबाट मुलुकको अर्थतन्त्रमा शिथिलता आयो’, मुलुकको आर्थिक अवस्था अप्ठ्यारो अवस्थातर्फ लैजाने विगतका अभ्यासबारे जानकारी दिँदै उनले भने, ‘कोरोना महामारी, भूकम्पलगायत कारणबाट मुलुकको अर्थतन्त्र समस्यामा थियो, आर्थिक अवस्थाको मूल्याङ्कन नगरी लिइएका नीतिका कारण समस्या चुलियो ।’

अर्थतन्त्रमा देखिएका समस्या हट्दै गएका र सकारात्मक दिशातर्फ अर्थतन्त्र अघि बढिरहेको उनको भनाइ छ । ‘हरेक देशमा समस्या आइरहेको छ, समस्यारहित केही छैन, समस्याको समाधान गरिएको छ, मुलुकमा केही हुन्छ भन्ने विश्वास वृद्धि भएको छ’, मन्त्री डा. महतले भने, ‘मुलुकको विकास जुन रफ्तारमा हुनुपर्ने हो, त्यसो नभए पनि मुलुकको अवस्थामा सुधार भइरहेको छ ।’

रोजगारी सिर्जना, उत्पादन वृद्धि, हरित ऊर्जालगायत क्षेत्रमा लगानीका लागि सरकारले प्रोत्साहन गरिरहेको उल्लेख गर्दै उनले सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको बताए । ‘नेपाल भविष्य छ, सकारात्मक ‘भाष्य’ स्थापित गरौँ, अर्थतन्त्रमा कहिलेकाहीँ तलमाथि हुनसक्छ’, मन्त्री महतले भने, ‘तर सरकार अर्थतन्त्रलाई सही मार्गमा ल्याउन क्रियाशील छ, सरकार र निजी क्षेत्र एक भएर काम गरेर सुखद नतिजा आउनेछ ।’

दायित्व सिर्जना भएको बिल सरकारले तिरिसकेको जानकारी दिँदै उनले भुक्तानी दिन बाँकी भए तत्काल विवरण पठाउन अन्य मन्त्रालयलाई आग्रह गरे । कुनै पनि वहानामा करदातालाई दुःख नदिन कर प्रशासनका कर्मचारीलाई निर्देशन दिँदै उनले साना र मझौला क्षेत्रका उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई आग्रह गरे । 

अर्थसचिव कृष्णहरि पुस्करले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रतिवेदनले नेपालको अर्थतन्त्र सही बाटोमा अघि बढिरहेको देखाएको उल्लेख गर्दै सरकारले चालेको सुधारका कार्यक्रमले अर्थतन्त्रलाई थप गति प्रदान गरेको बताए । उनले निजी क्षेत्रको समस्यालाई सरकारले गम्भीररुपमा लिएको र समस्या समाधान गर्न लागि परेको जानकारी दिए ।  





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १२:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया