logo-img

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय, करिब ८० हजार पर्यटकले गरे भ्रमण
फाइल फाेटाे

पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार दसैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको थियो । कात्तिकमा मुस्ताङमा १३ हजार नौ सय एक सवारीसाधनले पर्यटक बोकेर भित्रिएका थिए । 

६ हजार चार सय आठ मोटरसाइकल, ६ हजार दुई सय ८९ कार–जिप तथा सात सय ५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले अधिकतम दैनिक चारदेखि पाँच हजार पाँच सयको अनुपातमा पर्यटक मुस्ताङ भित्रिएका बताए ।



बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए । मुक्तिनाथको रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए । शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । छठ सकिएपछि चिसो बढ्न थालेकाले पर्यटक आगमन घट्दै गएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको होटल व्यवसायीले बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार ८:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया