एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार हुने

गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ ।

सो अवसरमा शनिबार आयोजितक पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले केबलकारको स्तरोन्नति र रिसोर्ट निर्माणका लागि १ अर्ब लगानी थप गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार स्तरोन्नतिका लागि ४५ करोड र रिसोर्ट निर्माणका लागि  ५५ करोड लगानी हुनेछ । उनका अनुसार हाल केबलकार एनालग प्रविधिमा सञ्चालन भइरहेकोमा त्यसलाई हटाई डिजिटल प्रणाली अपनाउन लागिएको हो ।

‘एनालग प्रविधिको मर्मतसम्भार गर्नुका साथै स्पेयर पार्टस्समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् प्रविधि डिजिटल प्रणालीमा स्तरोन्नति गर्दैछौँ’, उनले भने, ‘अष्ट्रियाको डोप्पलमेयर कम्पनीको डि–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति हुनेछ ।’  

श्रेष्ठका अनुसार स्तरोन्नतिको पहिलो चरणको काम सन् २०२१ पूरा भइसकेको र बाँकी काम सन् २०२४ को मध्यसम्म सम्पन्न भइसक्नेछ । यसका लागि सामान मगाइसकिएको उनले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा ‘कन्ट्रोल सिस्टम’, ‘कम्युनिकेशन केवल’का साथै केवलकारको लठ्ठा फेरिने छ । 

सञ्चालक श्रेष्ठले सन् २०२५ को सुरुआतसम्म सञ्चालन हुने गरी हाल मनकामना केबलकार हाताभित्रै सुविधासम्पन्न रिसोर्टको निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार ४० कोठाको सुविधासम्पन्न रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा तथा सेमिनारका लागि हल र रेष्टुराँको समेत सुविधा हुनेछ । ‘रिसोर्टका लागि रु ५५ करोड लगानी हुने अनुमान छ । रिसोर्ट सञ्चालनका लागि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य रहनेछ’, श्रेष्ठले भने ।



मनकामना दर्शन गर्न आउने भक्तजनलाई राम्रो सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको उनको भनाइ । सम्पूर्ण प्रणालीलाई डिजिटाइज गर्न लागेको कम्पनीले पछिल्लो समय टिकटलाई पनि अनलाइन प्रविधिमा उपलब्ध गराएको छ । रासस   



  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार २१:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया