तेमाल बृहत् खानेपानी : भुक्तानी नहुँदा आयोजनाको समयावधि लम्ब्याइयो

गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयाबधि लम्ब्याइएको छ ।

तेमाल बृहत् खानेपानी आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभीले ठेक्का लिएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ । भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिहरूले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएको समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए । उनका अनुसार तेमाल गाउँपालिकाको वडा नं २ र ३ मा धारा जडान तथा करिब ५० स्थानमा पानी ‘कन्ट्रोल’का सामग्री जडान बाँकी छ ।

आयोजनालाई कोरोनाको दुई लहर र गत साल साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा उक्त आयोजना करिब एक वर्ष धकेलिएको थियो । हाल पाइप लाइन विस्तार तथा धारा जडानका काम अन्तिम चरणमा सुस्तगतिमा भइरहेको समितिले जनाएको छ । समितिले गत कात्तिक मसान्तसम्ममा काम सक्न आयोजनालाई भने पनि आलटाल गरिएको हो । अध्यक्ष लामाले आयोजनाको करिब ९९ प्रतिशत काम सकिएको बताए । 

मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको छ भने तीन हजार उपभोक्तालाई घरमा पानी पुर्याइसकिएको उनले बताए । उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप बिछ्यउने तथा घर–घरमा धाराका सामग्री वितरणकार्य भइरहेको छ । साथै प्रशोधन केन्द्रबाट वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालिमाटीका करिब नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवार समेटेको छ । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौताअनुसार काम भएको छ । आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको अध्यक्ष लामाले बताए । 

याङ्बेलडाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माण गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध भए पनि थप निर्माण भएको छ । उक्त आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध हुनेछ ।
 
लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीमा कटान गरेको थियो । त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पुर्याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीको जोखिमलाई सुरक्षित गरिएको छ । उनका अनुसार बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पुर्याएको थियो भने करोडौँका संरचनालाई जोखिम पुर्याएको थियो ।



तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालिकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको ७ नं वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।  



  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार ७:६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया