logo-img

कठ्याङ्ग्रिदो चिसोमा त्रिपालमुनि १ हजार ७६ सुत्केरी, स्वास्थ्य संस्थामा बिरामीको भीड
अझै संकलन गर्न सकिएन विवरण

गत १७ कात्तिकको राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट  घरबासविहीन भएका सर्वसाधारण मौसम अनुकूल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ ।

अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जना प्रभावित भएका थिए । ४२ नाको मृत्यु भएको थियो भने ५ सय ५५ जना घाइते भएका थिए ।



पाँच वर्षमुनिका ४ हजार १ सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ६ सय ७४ गर्भवती, २ सय ८२ सुत्केरी, २ हजार ८ सय ३६ ज्येष्ठ नागरिक, १ हजार ६५ दीर्घरोगी र ४ सय ८ अपाङ्गता भएका व्यक्तिसहित ९ हजार ३ सय ८० जना भूकम्पको प्रभावबाट जोखिममा छन् । स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

कुशे गाउँपालिकामा २५ हजार ८ सय १५ जनसंख्या प्रभावित भएका थिए । सात जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । पाँच वर्षमुनिका २ हजार ९ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ५ सय १५ जना गर्भवती, २ सय ३० सुत्केरी, ९ सय २० ज्येष्ठ नागरिक, २ सय ७७  दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित ४ हजार ९ सय ७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार तीन सय ५२ जनसङ्ख्या प्रभावित भएका थिए । एक जनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए ।



पाँच वर्षमुनिका ३ सय ७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, २ सय चार ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपाङ्गता भएकासहित ७ सय ४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । आठवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ । 

नलगाड नगरपालिकामा २९ हजार २ सय ९ जनसंख्या प्रभावित भएका थिए । ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए । पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ३ सय ३१ गर्भवती, ३ सय ७४ सुत्केरी, १ हजार ४ सय ८३ ज्येष्ठ नागरिक, २ सय ३४ दीर्घरोगी र दुई सय ५० अपाङ्गता भएका व्यक्तिसहित ३ हजार हजार ९ सय ४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन् । एक स्वास्थ्य संस्था पूर्णरूपमा र पाँचवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।



बारेकोट गाउँपालिकामा १९ हजार ६ सय ७६ जनसङ्ख्या प्रभावित भएका थिए भने दशजना घाइते भएका थिए । पाँच वर्षमुनिका एक हजार चार सय ९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने एक सय ८१ गर्भवती, ७५ सुत्केरी, ४ सय ३९ ज्येष्ठ नागरिक, २ सय २३ दीर्घरोगी र ४५ अपाङ्गतासहित २ हजार ४ सय १७ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । पूर्णरूपमा एक र आंशिकरूपमा चार स्वास्थ्य संस्था भत्किएका छन् । 

भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार ८ सय ४३ जनसङ्ख्या प्रभावित भएका थिए । दुई जना घाइते भएका थिए । पाँच वर्षमुनिका  चार सय ६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९  गर्भवती, दुई सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गतासहित चार सय ४६ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । दुईवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ । 

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा १ हजार ९ सय ५० जनसङ्ख्या प्रभावित भएका थिए । पाँच वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपाङ्गतासहित दुई सय ८३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । १५ वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको छ ।

भूकम्पबाट १ लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार दुई सय छ रहेको छ । पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार ८ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् ।

त्यसैगरी १ हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । १ हजार आठ सय ३२ दीर्घरोगी, ८ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।

विवरण संकलन जारी  

७ मंसिरभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन ।  पालिकाले भने मङ्सिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए । 

छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन् । 

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन् । अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । रासस 

  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार ७:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया