logo-img

ललितपुर महानगरमा दोस्रो चरणको स्मार्ट सडक बत्ती सञ्चालनमा

ललितपुर महानगरमा दोस्रो चरणमा जडान गरिएका स्मार्ट सडक बत्ती सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिकाको ६० र विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानीमा दोस्रो चरणमा स्मार्ट सडक बत्ती जडान गरिएको हो । 

पहिलो चरणमा छुटेका ठाउँहरूमा दोस्रो चरणमा बत्ती जडान गरिएको महानगरपालिकाले जनाएको छ । सडक बत्ती उद्घाटन समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय तहहरूले समन्वय गरे देशभरका सहर उज्यालो पार्न सकिने बताए । 

उनले भने ‘यो लाइट ललितपुर महानगरपालिकालाई नै पहिलो भयो । अहिले दशैभरि स्मार्ट सडक बत्तीको तयारी चलेको छ । यो महानगरपालिका यसको सुरुवातमा पर्नु भएको छ । हामीले यसमा ४० प्रतिशतको लगानी गरेका छौँ ।’ 



तारहरू सञ्जालले नराम्रो देखिएकाले त्यसलाई हटाउनुपर्ने उनले बताए । मुख्य सहरी क्षेत्रबाट तारहरू देखिने ठाउँबाट हटाउने काम भइरहेको उनले बताए । ‘हामीले मुख्य सहरका रोडहरूमा तारलाई अन्डरग्राउन्ड गरौँ भनेर ठूलो प्रोजेक्ट ल्याएका छौ । काठमाडौं, ललितपुर, भक्तपुरमा गर्ने भन्ने योजना भयो तर धेरै स्थानमा काम गर्न सकिएको छैन । यो दुर्भाग्यपूर्ण अवस्था हो, हाम्रो नेपालमा धेरै स्थानमा सहकार्य भएको छैन,’ उनले भने । 

विकासका काममा सम्बद्ध निकायबीच समन्वयको ठूलो समस्या रहेको उनले बताए । ‘अन्डरग्राउन्ड तार राख्ने यस्तो महँगो प्रोजेक्ट ल्याएका छौ, गाह्रो पनि छ तर यसलाई समन्वय गरेर गरौँ भनेर गर्दा पनि गर्न सकेको छैन । यो हामी बीचको समन्वय नभएको कारणले बेवारिसे हुँदै छ,’ उनले भने । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सडक बत्ती नभएकाले हुने गरेको दुर्घटनाको जोखिम अब हट्दै जाने बताए । ‘धेरै दुर्घटनाहरू हुने गरेको छ त्यसको कारण भनेको बत्ती नभएर नै हो । कुसुन्ती, धोबीघाटमा धेरै दुर्घटनाहरू हुने गरेको छ, त्यस कारणले हामीले त्यहाँ बत्ती बाल्नको लागि प्रयासरत छौँ,’ उनले भने, ‘यसबाट एक जनाको मात्रै ज्यान जोगियो भने हाम्रो लागि ठूलो उपलब्धी हुनेछ र यसलाई हामी पुरा गर्ने छौँ ।’ 



स्मार्ट सडक बत्तीमा कतै समस्या आए महानगरपालिकालाई खबर गर्न उनले सबैमा आग्रह गरे । ‘जसले पनि कुनै स्थानमा बत्ती निभ्यो भने फोन गरेर भन्न सक्नु हुने छ,’उनले भने । 



  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार ७:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया