डायबेटिक रेटिनोप्याथीले निम्त्याउँछ अन्धोपना

विश्वभर नसर्ने रोगको जोखिम बढ्दै गइरहेको छ । ती नसर्ने रोगमध्येको एक हो, मधुमेह । मधुमेहले विश्वभरि विकराल स्वास्थ्य समस्याको रूप लिँदै गइरहेको छ । नेपालमा मधुमेह रोग प्रमुख समस्या देखिएको चिकित्सकहरू बताउँछन् । नेपालमा १० लाख भन्दा धेरै मधुमेहका बिरामी छन् । ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा मधुमेहका बिरामी धेरै छन् । मधुमेह रोगले शरीरका महत्त्वपूर्ण अंगहरू क्षति पुर्‍याउने गर्छ । मधुमेहलाई आँखा, मिर्गौला, मुटु, दिमागलगायतका अंगमा क्षति पुर्‍याउने गरेको चिकित्सकहरू बताउँछन् ।

मधुमेहका कारण आँखाको ज्योतिसमेत गुम्न सक्छ । मधुमेहबाट ग्रसित धेरैलाई यो कुराको जानकारी नहुन सक्छ । यो रोगका धेरैजसो बिरामीले मधुमेह त हो नि भनेर हेलचेक्रयाईँ गरेको पाइन्छ । प्रायः व्यक्ति शरीरमा कुनै समस्या नदेखिएसम्म शरीरको जाँच गर्नमा त्यति उत्सुक देखिँदैनन् । 

चिकित्सकहरूका अनुसार मधुमेह रोगको उपचार समयमा नै नभए खण्डमा यसले आँखाको दृष्टि गुम्ने खतरा हुन्छ । तिलगंगा आँखा प्रतिष्ठानकी नेत्र रोग विशेषज्ञ डा. रबा थापा मधुमेह रोगका कारण दृष्टि गुमाउनेको संख्या बढ्दै गएको बताउँछिन् । पछिल्लो समय दृष्टि गुम्नुको मुख्य कारणमध्ये मधुमेह पनि रहेको उनको भनाइ छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत आँखा विभागको तथ्याङ्कलाई केलाउँदा आँखाको उपचार तथा परीक्षण गराउन आउने प्रत्येक एक सय जनामा १५ प्रतिशत मधुमेहका बिरामी हुने गरेका छन् । तीमध्ये अधिकांशलाई मधुमेहका कारण आँखाको दृष्टि पर्दामा असर गरेको अर्थात् डायबेटिक रेटिनोप्याथी देखा परेको आँखा विभागकी प्रमुख डा. रञ्जना शर्माले बताइन् ।

‘आँखाको रेटिनामा देखिने असरलाई डायबेटिक रेटिनोप्याथी भनिन्छ । नेपालमा मधुमेहका बिरामी बढ्दै गएका छन् । यस रोगले आँखाको दृष्टि पर्दाको रक्त नलीमा असर गर्छ,’ डा. थापा भन्छिन्, ‘मधुमेह भएका बिरामीलाई क्रमशः शरीरका मुख्य अंगहरूमा गम्भीर असर पुर्‍याउँछ । आँखाको दृष्टिमा समस्या देखिने कारणमध्ये मधुमेह रोग पनि एक हो ।’

डा. थापाका अनुसार डायबेटिक रेटिनोप्याथी हुँदा आँखाको रक्त नशाहरूमा असर भई पर्दामा रक्तस्राव हुने गर्छ । यस्तै, आँखा पनि सुन्निने गर्छ । उपचार नगरिएको खण्डमा आँखाभित्र धेरै रगत जम्मा भई पर्दा खुम्चिन सक्छ । आँखाको पर्दामा बढी असर भएको खण्डमा दृष्टि फर्काउन गाह्रो हुन्छ ।



यस रोगले केही व्यक्तिमा मोती विन्दुको समस्या पनि देखिन सक्छ । समयमै मधुमेहका बिरामीले आँखा परीक्षण नगराएको खण्डमा भविष्यमा अन्धोपनासमेत आउन सक्छ ।

कतिपय बिरामी आँखामा समस्या देखिएर परीक्षण गर्न आउँदा डायबेटिक रेटिनोप्याथी भएको पुष्टिपछि मात्रै आफूलाई मधुमेह भएको थाहा पाउने चिकित्सकहरू बताउँछन् । मधुमेह भएका बिरामीलाई सुरुवाती समयमा कुनै पनि लक्षण देखिँदैन । रेटिनामा असर भई धमिलो देख्न थालेपछि मात्रै थाहा पाउन सकिने डा. थापाले जानकारी दिइन् । 



डायबेटिक रेटिनोप्याथीका लक्षण :

  • आँखा धमिलो हुने, दृष्टि कमजोर हुने
  • बिस्तारै आँखामा रगत आउने
  • बिहान उठ्ने बित्तिकै आँखा नदेख्ने

आँखा धमिलो हुनुका साथै मधुमेह भई धूम्रपान गर्ने मानिसमा चाँडै दृष्टि पर्दामा असर गर्छ । आँखामा समस्या नदेखिएसम्म परीक्षण गराउने चलन कम छ । मधुमेह हुँदा आँखामा जटिल खालको समस्या आउँछ भन्ने जानकारी नहुँदा परीक्षण नगराई बस्दा अन्धोपना आउन सक्ने सम्भावना उच्च हुने डा. थापा बताउँछिन् । उनका अनुसार डायबेटिक रेटिनोप्याथी भएकामध्ये २ प्रतिशतमा अन्धोपना आउन सक्ने सम्भावना हुन्छ । 

डा. थापाका अनुसार पहिलो प्रकारका मधुमेहका बिरामी २० वर्ष कटेका सबैमा आँखाको समस्या देखिएको पाइन्छ । यस्तै, दोस्रो प्रकारका मधुमेहका बिरामीलाई ७० प्रतिशतसम्म डायबेटिक रेटिनोप्याथी भएको पाइएको छ । पछिल्लो समय मधुमेह रोग पुष्टि हुने बित्तिकै आँखा परीक्षण गर्दा केही मानिसमा डायबेटिक रेटिनोप्याथी देखिएको उनले जानकारी दिइन् । 

‘जति मधुमेह रोगको तहलाई नियन्त्रणमा लिन सकिन्छ, त्यति डायबेटिक रेटिनोप्याथीको समस्या पनि कम हुँदै जान्छ,’ डा. शर्माले भनिन्, ‘ब्लड प्रेसर, रगतमा हुने बोसोको मात्रा र सुगरलाई सामान्य अवस्थामा राखिएको खण्डमा आँखामा आउने जटिलता कम हुन सक्छ ।’

डा. थापाले मुख्य कुरा, मधुमेह भएको थाहा पाउन साथ आँखा परीक्षण गर्न सुझाइन् । ‘डायबेटिक रेटिनोप्याथीका कारण आँखामा रगत देखिएमा लेजर विधिबाट उपचार गरिन्छ,’ डा. थापाले भनिन्, ‘आँखामा धेरै जटिलता आयो भने विशेष किसिमको इन्जेक्सनमार्फत आँखाभित्र भएको रगतलाई सफा गरिन्छ । त्यसपछि आँखा रोग विशेषज्ञको सल्लाहमा समय समयमा आँखा परीक्षण गर्न जरुरी छ ।’ 

  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १२:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया