बैंकले नियमविपरीत ब्याज लिएको भए उजुरी गर्नुस्, राष्ट्र बैंकले फिर्ता गराउँछ : गभर्नर अधिकारी
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

उनले उद्योगी व्यवसायीहरूले बैंकहरूले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनासो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए । उनले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराएको उल्लेख गरे । 

उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरूलाई आग्रह गरे । उनले व्यवसायीले बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे । गभर्नर अधिकारीले व्यवसायीहरूले बैंकहरूले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रूपमा अराजकता फैलाउनेहरूका लागि प्रोत्साहन मिल्ने बताए । 

उनले ठूला व्यवसायीहरूले बैंकहरूबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे । गभर्नर अधिकारीले बैंकहरूको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरूले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पारे । उनले उद्योगी व्यवसायीहरूले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताए । उनले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरूलाई व्यक्तिगत रूपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताए । 

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा रहेको बताए । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए । उनले सरकार र राष्ट्र बैंकका हरेक नीतिहरू आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताए ।

नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरू उल्लेख भएको दाबी गरे । उनले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गरे । उनले बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? भन्दै प्रश्न गरे । उनले अर्थमन्त्रीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नु गलत भएको बताए ।  





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १३:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया