logo-img

११ महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक, सबैभन्दा बढी भारतीय
फाइल तस्बिर

सन् २०२३ को ११ महिनामा ९ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । 

नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार ३ सय छ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने सङ्केत देखिएको छ । 

सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने उल्लेख गरे । ‘११ महिनामा ९ लाख १८ हजार बढी पर्यटक आएका छन् । १० लाखको लक्ष्य करिब पुग्न लाग्यो,’ उनले भने ।

पर्यटक आगमनको मुख्य स्रोतबजार छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, श्रीलङ्का, बङ्गलादेश रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन् । सो  अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार ४ सय ४३ जना पर्यटक नेपाल आएका छन् ।

संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४ सय ६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ६ सय एक, बेलायतबाट ६ हजार एक सय ३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार ७ सय ६१, जर्मनीबाट ३ हजार ५ सय १२, श्रीलङ्काबाट तीन हजार २ सय २८ र फ्रान्सबाट ३ हजार २ सय पाँचजना पर्यटक भित्रिएका छन् ।  





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १४:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया