‘डाबरको हेयर प्रोडक्टले क्यान्सर’
डाबरविरुद्ध अमेरिका र क्यानडामा साढे ५ हजार मुद्दा

डाबर इन्टरनेशनल लिमिटेड वर्तमान समयको एक चर्चित कम्पनी हो । डाबर भारतको भरपर्दो र विश्वको सबैभन्दा ठूलो आयुर्वेदिक र प्राकृतिक स्वास्थ्य सेवा कम्पनीको रूपमा चिनिन्छ । नेपालसहित विश्वमा डाबरको लोकप्रियता छुट्टै छ । 

सायदै डाबरको उत्पादन प्रयोग नगर्ने मानिस कमै होलान् । डाबरको नाम सुन्नेबित्तिकै आयुर्वेदिक उत्पादन गर्ने कम्पनीको याद आउँछ । आयुर्वेदिक अर्थात् प्रकृतिबाट प्राप्त हुने सबै प्रकारका जडिबुटी । तर, करिब एक महिनायता डाबर इन्टरनेशनल लिमिटेडविरुद्ध अमेरिका र क्यानडामा हङ्गामा मच्चिएको छ । 

डाबरको उत्पादनले क्यान्सर निम्त्याउँछ भन्ने दाबीसहित अमेरिका र क्यानडामा मुद्दा दर्ता भएपछि डाबर उत्पादन प्रयोगकर्ता स्तब्ध भएका छन् । उक्त कम्पनीको हेयर रिलेक्सर (कपालमा प्रयोग गर्ने केमिकल) को प्रयोगले डिम्बासय, पाठेघरको क्यान्सर तथा अन्य स्वास्थ्य समस्याहरू निम्त्याउने गरेको आरोप लागेको छ ।

अमेरिका र क्यानडामा डाबर इण्डिया तथा उक्त कम्पनीसँग आबद्ध अन्य सहायक कम्पनीहरूविरुद्ध धेरै मुद्दा दायर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रतिवेदनअनुसार डाबर इन्टरनेशनलका तीन एसोसिएट कम्पनी (नमस्ते ल्याबोरेटरिज, डर्मोभिवा स्किन एसेन्सियल्स र डाबर इन्टरनेशनल) विरुद्ध अमेरिका र क्यानडामा ५ हजार ४ सय मुद्दा दर्ता भएका छन् ।

हेयर रिलेक्सर कपाललाई मुलायम बनाउन, कपाललाई सिधा गर्न प्रयोग गरिन्छ । उपभोक्ताले हेयर रिलेक्सर जस्ता उत्पादनमा एकखाले केमिकल भेटिएको र यसको प्रयोगले स्वास्थ्य समस्या निम्त्याएको आरोप लगाएका छन् । कम्पनीले कपाल स्ट्रेटनर र रिलेक्सर उत्पादन गरी धेरै ब्रान्डका नाममा बिक्रीवितरण गर्छ । 

डाबरमाथि कसरी लाग्यो आरोप ?



राम्रो कपालले मानिसको सुन्दरता झल्काउँछ । त्यसैले पछिल्लो समय सुन्दरताका लागि कपालमा विभिन्न केमिकलको प्रयोग गरिन्छ । स्याम्पु त जीवनको हिस्सा नै बनिसकेको छ भने आजको पुस्ताका लागि ‘कन्डिसनर’ सामान्य नै बनिसकेको छ । 

कतिपय उपभोक्ताले स्याम्पु, कन्डिसनर मात्र होइन विभिन्न प्रकारका केमिकल प्रयोग गरेर स्थायी कपाल स्ट्रेट पनि गरिरहेका हुन्छन् । कपाल स्ट्रेट गर्दा धेरै रसायनको प्रयोग गरिन्छ । केसमा प्रयोग हुने विभिन्न केमिकल र हेयर डाइको प्रयोगले कपाललाई नोक्सान पुर्‍याउँछ भन्ने कुरा त सबैलाई थाहै छ ।  



अमेरिकाको नेशनल इन्स्टिट्युट अफ हेल्थले अक्टोबर २०२२ मा एउटा सर्वेक्षण गरेको थियो । सर्वेक्षणले पर्मानेन्ट हेयर स्ट्रेटिङ प्रोडक्ट प्रयोग गर्ने महिलामा पाठेघरको क्यान्सर हुने नयाँ तथ्य पत्ता लगायो । इन्टरनेशनल जर्नल अफ क्यान्सरमा प्रकाशित यो अध्ययनले उक्त कुरा पत्ता लगाएको हो । 

सुरुमा सो अध्ययन स्थायी हेयरडाई र रासायनिक हेयर स्ट्रेटनरको प्रयोगले महिलामा हुने स्तन क्यान्सरसँग सम्बन्धित थियो । अध्ययनका क्रममा स्तन क्यान्सर पनि बढेको देखियो । तर, स्तन क्यान्सरभन्दा पनि पाठेघरको क्यान्सर कयौं गुण बढी पाइयो । त्यसपछि अनुसन्धानकर्ताले अध्ययनमा सहभागी भएका महिलालाई कपालसँग सम्बन्धित (कपालमा प्रयोग गरिने कलर, स्ट्रेटनर, कपालमा प्रयोग गरिने लोसन वा क्रिम) प्रश्नहरू सोधियो । र, कपालमा रसायन प्रयोग गर्ने महिलामा क्यान्सरको जोखिम बढी भएको पुष्टि भयो । र, रसायनको विषयमा अध्ययन भयो ।

डाबरको उक्त उत्पादनमा ‘फर्मल डिहाइड’ (रंगहीन, कडा गन्ध, ज्वलनशील केमिकल), बिस्फेनोल ए (मुख्यतया पोली कार्बोनेट प्लास्टिकको उत्पादनमा प्रयोगका लागि ठूलो मात्रामा उत्पादन गरिन्छ) जस्ता केमिकलको प्रयोग भएको पाइयो । जसकारण क्यान्सरको जोखिम बढेको अध्ययनले देखाएको छ । 

हेयर रिलक्सरमा प्रयोग हुने हानिकारक केमिकल

यो अध्ययनमा ३५–७४ वर्षका ३३ हजार ४९७ अमेरिकी महिलालाई समावेश गरिएको थियो । सर्वेक्षणका दौरान ११ वर्षसम्म महिलाको स्वास्थ्य निगरानी गरिएको थियो । यस समय ३७८ महिलामा क्यान्सर भेटियो । 

कपालमा केमिकल प्रयोग नगर्ने ७० वर्षसम्मका महिलामा क्यान्सर हुने खतरा १.६४ प्रतिशत देखियो भने केमिकल प्रयोग गर्ने महिलामा क्यान्सर हुने खतरा ४.०६ प्रतिशत देखियो । यस अध्ययनलाई आधार मान्दा अन्य महिलाको तुलनामा स्थायी हेयरडाई र रासायनिक हेयर स्ट्रेटनरको प्रयोग गर्ने महिलामा क्यान्सर हुने खतरा धेरै हुन्छ । 

अध्ययनले पर्मानेन्ट हेयर स्ट्रेटिङ प्रोडक्टले पाठेघरको क्यान्सर हुने पुष्टि गरेसँगै डाबरको नमस्ते ल्याबोरेटरिज, डर्मोभिवा स्किन एसेन्सियल्स र डाबर इन्टरनेशनल जस्ता सहायक कम्पनीको हेयर प्रोडक्टलाई लिएर मुद्दा परेको हो । आरोप लागेको सबै पर्मानेन्ट हेयर स्ट्रेटिङ प्रोडक्ट अमेरिकामा नै बनाएर अमेरिकामा नै बिक्री गरिन्छ । उक्त आरोप डाबरको तीन कम्पनीलाई मात्र होइन, सफ्टसिन कार्सन, गोदरेज, रेभलोन जस्ता कम्पनीमाथि पनि मुद्दा दर्ता भएको छ । 

डाबरद्वारा आरोप अस्वीकार  

कम्पनीले भने आरोप अस्वीकार गरेको छ । १८ अक्टोबरमा एक वक्तव्य जारी गर्दै डाबरले आरोपहरू ‘निराधार र अपूर्ण अध्ययन’ भनेको छ । आरोप अस्वीकार गर्दै मुद्दाबाट बच्न कम्पनीले केही सल्लाहाकारसमेत राखेको जनाएको छ ।  

यस्तै, अमेरिकी अदालतले क्यान्सरको आरोप लागेका डाबरका तीन सहायक कम्पनीमध्ये दुई कम्पनीले मुद्दाबाट क्लियरेन्स पाएका छन् । डर्मोभिभा स्किन एसेन्सियल्स र डाबर इन्टरनेशनललाई ‘व्यक्तिगत अधिकार क्षेत्रको अभाव’ का कारण प्रतिवादीको रूपमा खारेज गरिएको रोयटर्सले जनाएको छ । 

रोयटर्सका अनुसार संयुक्त राज्यमा यी दुई कम्पनीहरू हेयर रिलेक्सर उत्पादन, निर्माण, मार्केटिङ, वितरण वा बिक्रीमा संलग्न थिएनन् । डाबरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी सूचित गर्न चाहन्छौं कि डाबर र डर्मोभिभालाई लागेको मुद्दा खारेज भएको छ । संयुक्त राज्य अमेरिकामा हेयर रिलेक्सर उत्पादनहरू बिक्रीवितरण गर्दैन ।’  तर, नमस्ते ल्याबोरेटरिज कम्पनीले भने मुद्दाको सामना गर्नुपर्ने भएको छ । 

नमस्ते ल्याबोरेटरिज संयुक्त राज्य अमेरिकामा अवस्थित एक इजाजतप्राप्त कम्पनी हो । जसले कपालमा प्रयोग गरिने विभिन्न प्रडक्टहरू उत्पादन गरी बिक्रीवितरण गर्छ । यो कम्पनीको शाखा संयुक्त राज्य अमेरिका, अफ्रिका, मध्य पूर्व, युरोप र उत्तरी अमेरिकाको क्यारेबियन क्षेत्रभित्र सञ्चालन छ । तर, नमस्तेले पनि आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको छ । मुद्दाविरुद्धको रक्षा गर्न सल्लाहकारसमेत राखेको छ । 

डाबरले थप भनेको छ, ‘हामी दोहोर्याउन चाहन्छौं कि नमस्ते कम्पनी आफ्ना उत्पादनहरूको गुणस्तरमा विश्वस्त छ । हामी विश्वस्त पार्न चाहन्छौं कि हामीमाथि लागेका मुद्दाहरूमा कुनै कानुनी आधार छैन । आरोपहरू आधारहीन भएकाले यी मुद्दाहरूलाई बचाउनका लागि विज्ञ राखेका छौँ । नेशनल इन्स्टिच्युट अफ हेल्थको जर्नलमा प्रकाशित अपूर्ण अध्ययन, जुन अध्ययनलाई युरोपेली युनियनको कस्मेटिक, टोयलेट्री र पर्फ्युमरी एसोसिएसनले पहिले नै अनावश्यक मानेको छ ।’

डाबरले प्रकाशन गरेको सूचना : 

डाबरको इतिहास

डाबर १३९ वर्षभन्दा बढी पुरानो कम्पनी हो । डाबरको सुरुवात सन् १८८४ मा डा. एसके बर्मनले गरेका थिए । डा. बर्मन एक आयुर्वेद विशेषज्ञ थिए । ८० को दशकमा उनले हैजा, कब्जियत र मलेरिया जस्ता औषधिको सूत्र तयार गर्नेबाट आफ्नो काम सुरु गरेका थिए । सन् १९०७ मा डा. बर्मनको मृत्युपछि उनका छोरा सीएल बर्मनले विरासतलाई अगाडि बढाए । त्यसपछि कम्पनीले औषधिबाहेक अन्य उत्पादन पनि बनाउन थाल्यो । 

ती उत्पादनलाई हेल्थ केयर प्रोडक्ट, हेयर केयर प्रोडक्ट, स्किन केयर प्रोडक्ट र फूड प्रोडक्ट गरी चार वर्गमा विभाजन गरियो । ब्राण्ड विस्तार गर्दै जाँदा डाबरले हाल २५० भन्दा बढी हर्बल प्रोडक्ट उत्पादन गरिरहेको छ । कम्पनीका आफ्नै ८ वटा ब्रान्ड छन् । कम्पनीले हेल्थ केयर क्षेत्रमा च्यवनप्रास, मह, पुदिनहारा, लाल तेल, हनिटसलगायत धेरै उत्पादन  उत्पादन गर्दै आएको छ । त्यसैगरी, कम्पनीले पर्सनल केयर क्षेत्रमा अमलाबाट तेल र रातो पेस्ट बनाइरहेको छ ।

डबरको प्रोडक्ट नेपालमा पनि लोकप्रिय छ । सन् १९८९ मा नेपालमा स्थापना भएको कम्पनीले सन् १९९२ देखि उत्पादन थालेको थियो । सुरुमा ५३ लाख वार्षिक कारोबार गरेको यस कम्पनीले हाल करोडौंभन्दा बढी कारोबार गरिरहेको छ । 

डाबरका चलेका उत्पादनमा रियल, डाबर च्यवनप्रास, डाबर रेड टुथपेस्ट, हजमोला, डाबर अमला हेयर आयल, डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिलका साथै अन्य थुप्रै छन् । डाबरले ‘ओआरएस ओलिभ ओयल’ सहित विभिन्न ब्रान्डका नाममा हेयर रिलेक्सर उत्पादन पनि बिक्रीवितरण गर्छ । 

  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १४:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया