कोभिडपछि चीनमा फैलियो अज्ञात संक्रमण, नेपालमा कति छ जोखिम ?
चीनको बेइजिङमा एउटा अस्पतालमा उपचार गराइरहेका बालबालिका

पछिल्लो केही समय यता चीनमा बालबालिका र वृद्ध वृद्धाहरूलाई श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या देखिएको छ । जसलाई लिएर विश्व नै चिन्तामा देखिन्छ । 

अज्ञात संक्रमणका कारण बालबालिकामा निमोनिया संक्रमण बढ्न थालेपछि चीनमा सतर्कता अपनाउन थालिएको छ । यसबाट धेरै बालबालिका प्रभावित भएका छन् । चीनमा प्रभाव देखाए पछि अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखा परेका छन् । 

चीनमा फैलिएको निमोनियाबारे सरोकारवालाले चासो र चिन्ता व्यक्त गरिरहेका छन् । उक्त संक्रमणका बिरामीमा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा माइकोप्लाज्मा कीटाणु, कोभिड–१९ भाइरस, प्याथोजेन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ ।

चीनको साङहाइ, पेकिङ जस्ता ठूला सहरमा एकै पटक बालबालिकामा निमोनिया फैलिई अस्पतालमा बिरामीको चाप बढेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा बालबालिका र वृद्ध वृद्धाहरूमा तीव्र रूपमा बढ्दो रहस्यमयी माइकोप्लाज्मा निमोनियाको संक्रमणलाई मध्यनजर गर्दै भारतले पूर्व तयारी गरिसकेको छ । 

चीनबाट भारतमा यो संक्रमण फैलिएमा त्यसको रोकथाम र नियन्त्रणका लागि राज्यहरूले विशेष तयारी गरेका छन् । भारतीय केन्द्र सरकारले यस सम्बन्धमा अलर्ट जारी गरेपछि राज्यहरूले आफ्नो चिकित्सा पूर्वाधारमा भएका कमजोरीहरू सुधार गर्न थालेका छन् ।

के गर्दैछ चीन ? 



बढ्दो संक्रमणलाई मध्यनजर गर्दै चिनियाँ स्वास्थ्य अधिकारीहरूले मानिसलाई भीडभाड भएको ठाउँमा नजान आग्रह गर्दै स्वास्थ्य गाइडलाइन जारी गरिसकेका छन् ।
केही सातायता लगातार बढिरहेको संक्रमणलाई लिएर विश्वभर विभिन्न आंकलन गरिएको छ । 

कतिपयले चीनमा देखा परेको निमोनिया कोरोना भाइरसको नयाँ भेरियन्ट हुनसक्ने समेत आंकलन गरिरहेका छन् । तर मेलबर्न स्कूल अफ हेल्थ साइंसेजका प्रमुख ब्रुस थम्पसनले प्रारम्भिक तथ्याङ्कमा असामान्य केही नभएको बताएका छन् । थम्पसनले भनेका छन्, ‘नमुना परीक्षण गरिएको छ । यो कोभिडको नयाँ भेरिइनट हुनसक्ने प्रमाण फेला परिसकेको छैन ।’



के भन्छ डब्लूएचओ ?

चीनमा फैलिरहेको हालको निमोनियाका लक्षण कोभिड–१९ संक्रमणसँग मिल्दोजुल्दो भएकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनसाग रोगबारे रिपोट माग गरेको थियो ।  
चीनबाट प्रतिक्रिया पाएपछि डब्ल्यूएचओले हाल चीनमा श्वासप्रश्वाससम्बन्धी रोगहरूको पछिल्लो केसहरू माइकोप्लाज्मा निमोनिया जस्ता ज्ञात भाइरसहरूको संक्रमणसँग सम्बन्धित रहेको बताएको छ ।

डब्लूएचओले यो समस्याबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको भन्दै सचेत हुन आग्रह गरेको छ । विश्वभर चीनमा फैलिएको संक्रमणबाट बच्न पूर्व तयारी गरिरहँदा नेपाल सरकारले अहिलेसम्म आधिकारिक सूचना जारी गरेको छैन । मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको शुक्रबारको बैठकमा भने यो विषयमा छलफल भएको छ । एकाइका उपेन्द्र ढुङ्गानाले मन्त्रालयले हाल चीनमा फैलिएको उक्त संक्रमणको जोखिम कत्तिको छ भनेर छलफल गरेको जानकारी दिए । 

सर्तक रहन सुझाउँछन् विज्ञ

चीनमा फैलिएको संक्रमणबारे अपडेट रहनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् । ‘चीनमा फैलिएको अज्ञात निमोनिया हुनुको कारण पुष्टि भएको देखिँदैन । त्यसमाथि बालबालिका उमेर समूहमा धेरै संक्रमण फैलिएको देखिन्छ,’ डा. पुनले भने ।

तीव्र रूपमा अज्ञात रोग फैलिइरहँदा भविष्यमा भयावह अवस्था आउन सक्ने भन्दै डा. पुनले सामान्य रूपमा देखिएका रूघाखोकी, ज्वरो जस्ता लक्षणलाई पनि गर्न नहुने जानकारी दिन्छन् । 

‘अहिले मैले अध्ययन गरेअनुसार चीनका ठूला–ठूला अस्पतालमा दैनिक १२ देखि १५ सय बिरामी भएको भन्ने कुरा आइरहेका छन्,’ उनले भने, ‘यो रोगलाई नजरअन्दाज गर्न हुँदैन । 

कोभिड–१९ संक्रमणको सुरुवाती समयमा पनि सामान्य मानिएको थियो तर पछि विश्वभर नै आतंक मच्चाएको थियो ।’ त्यसकारण सामान्य रोगका रूपमा नलिई लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन डा. पुन सुझाउँछन् । 

चीनमा एकै पटक ठूलो संख्यामा तीव्र गतिले फैलिरहेकाले यो रोग अन्य देशमा पनि संक्रमण हुनसक्ने उनले जानकारी दिए ।  

  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १७:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया