logo-img

नेपालमा बढ्यो गिद्धको संख्या, संरक्षणमा भारत-पाकिस्तानको पनि सहयाेग

लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।  

गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा वृद्धि भएको एक अध्ययनले देखाएको हो ।

जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले पछिल्लो गणनाअनुसार यहाँ ५ सय १७ गिद्ध भेटिएको जानकारी दिए । ‘रेष्टुराँ सुरु गर्ने बेलामा यहाँ सात प्रजातिका ७७ वटा गिद्ध गणना गरिएको थियो’, उनले भने, ‘हामीले गरेको पछिल्लो अध्ययनअनुसार यहाँ आठ प्रजातिका ५ सय १७ गिद्ध तथा यस क्षेत्रबाट गिद्धका एक सय वटा गुँड रेकर्ड गरिएको छ ।’



समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उनको भनाइ छ । नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुराँ विस्तार गरिएको जनाउँदै अध्यक्ष चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पुर्‍याएका बताए । समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका रूपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उनको भनाइ छ । 

‘नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो’, उनले भने, ‘त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो ।’ 

हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेष्टुराँमा ल्याएर छोडिएको चौधरीले जानकारी दिए । त्यस्तै, ७७ जङ्गली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उनको भनाइ छ । जटायु रेष्टुराँमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन दुई सय किलोमिटरसम्म उडेको अध्ययनले देखाएको चौधरीले बताए ।



केन्द्रमा प्रजनन भएर रेष्टुराँमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धले मिलेर प्रजनन गर्न सुरु गरेको उनले बताए । प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुने तथा एउटा मात्रै फूल पार्ने उल्लेख गर्दै चौधरीले भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने बताए ।

गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईवस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ । रासस 



  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार ८:१०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया