logo-img

आज तराईमा हुस्सु, हिमाल-पहाडमा वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

मंगलबार पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।   

यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशको तराईका थोरै स्थानमा हुस्सु लागेको छ । तराईका थोरै भू–भागमा लागेको हुस्सु मध्यान्हसम्ममा क्रमिकरूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । हुस्सुको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । 

यस्तै, वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । साथै देशको पुर्वी भू–भागमा बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित ‘मिचोङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार ७:१३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया