भूकम्प प्रभावित क्षेत्रमा समाज नै मानसिक स्वास्थ्यको जोखिममा

नेपाल रेडक्रस सोसाइटीले जाजरकोट भूकम्पपछि विपद्मा केन्द्रित हुँदा समाज नै मानसिक स्वास्थ्यको जोखिममा रहेको बताएको छ । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) ले जाजरकोट भूकम्प प्रतिकार्यका सम्बन्धमा सोमबार काठमाडौंमा आयोजना गरेको एक सम्मेलनमा यस्तो बताइएको हो । 

नेपाल रेडक्रस सोसाइटीद्वारा जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि गत एक महिनामा गरिएका प्रतिकार्यका गतिविधिहरू, स्रोतको अवस्था र आवश्यकता, चुनौतीहरू र भावी कार्य योजनाहरूका बारेमा जानकारी गराउने उद्देश्यले उक्त सम्मेलन गरिएको थियो ।

उक्त सम्मेलनमा आईएफआरसीका नेपाल प्रमुख अजमद् उल्लाले भूकम्प प्रभावित क्षेत्रहरूमा अन्य सहयोगका साथै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग अझ महत्त्वपूर्ण रहेको बताए । 

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले सरकारको सहयोगी निकायको रूपमा भूकम्प प्रभावित समुदायलाई निष्पक्ष, तटस्थ र पारदर्शी रूपमा सेवा पुर्‍याउन रेडक्रस तत्पर रहेको बताउँदै भूकम्प प्रतिकार्य कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको सहयोग महत्त्वपूर्ण रहेको बताए । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपश्चात् रेडक्रसले गरेका गतिविधिहरूका बारेमा प्रस्तुतीकरण गर्दै हालसम्म प्रभावित परिवारहरूलाई ३ हजार ९ सय ७० थान त्रिपाल, २ हजार ७ सय ८० थान कम्बल, २ हजार ८ सय थान म्याट्रेस, ७ हजार ४ सय १५ थान डिगनिटी कीट र १ सय ३२ थान हाइजीन कीट वितरण गरिएको जानकारी दिए ।  

यस्तै, भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार, राहत, विस्तृत लेखाजोखाको सर्भेक्षणलगायतका कार्यका लागि नेपाल रेडक्रसका ३ सय ९० स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए । यसै गरी, भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा देखिएका मानसिक स्वास्थ्य समाधानका लागि रेडक्रसले काम गरिरहेको निर्देशक श्रेष्ठले जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १५:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया