काठमाडौं महानगरको चेतावनी- नियमविपरीत सञ्चालनमा रहेका औषधि पसल बन्द गर्नू
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरभित्र अनधिकृतरूपमा औषधि पसलहरू सञ्चालन भइरहेको बताउँदै त्यस्ता औषधि पसल बन्द गर्ने चेतावनी दिएका छन् । 

महानगरभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्रीवितरण भइरहेको तथा विद्यमान कानुनको परिपालना नगरेको उजुरी प्राप्त भएको उल्लेख गर्दै मेयर बालेनले संस्थागतरूपमा सूचना निकालेर चेतावनी दिएका हुन् । 

‘औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्रीवितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्रीवितरण भइरहेको, नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुनअनुसार बिक्रीवितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको गुड फार्मेसी प्राक्टिसअनुसार औषधि पसल व्यवस्थापन नगरिएको र काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको र यस विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार नपाइएकोले यो सूचना प्रकाशन गरेको मितिले १० दिन भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ’, महानगरद्वारा जारी सूचनामा उल्लेख छ । 

उल्लेखित कानुनअनुसार नचलेका औषधि पसललाई यही २९ मंसिरभित्र कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशन दिएका छन् ।  

‘काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्रीवितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ । त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुनबमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौं ।’

सोबमोजिम सुधार नभए त्यस्ता औषधि पसल बन्द गराइने महानगरको चेतावनी छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार १३:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया