logo-img

मन्त्री र कर्मचारीले प्रधानमन्त्रीलाई सहयाेग नगर्दा भूकम्पपीडित राहत नपाएर मर्न बाध्य : माओवादी प्रवक्ता

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन् । 

रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताएका हुन् । 'एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ ।' उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए । 

प्रवक्ता सापकोटाले भने, 'जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिंगाे मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नुभयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ ।'



भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताए । 

नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताए । सत्ता गठबन्धनमा कुनै समस्या नभएको र पाँच वर्ष नै यो गठबन्धन रहने जिकिर गर्दै गठबन्धनले जनताको धैर्यता र निराशालाई टुट्न दिन नहुने बताए । 

सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सम्बन्धमा सन्तुलन कायम भएको बताए । 



पार्टीहरुमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर हुन पुगेको भन्दै उनले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको चाहना पूरा गर्न सबै पार्टीले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

जनताको आवाज बुलन्द गर्नुपर्ने संसद् अहिले अलमलिएको टिप्पणी गर्दै उनले भने, 'संसद् जीवन्त र जनमुखी बन्न सकेन, संसद्भन्दा माथि कोही हुँदैन, लोकतन्त्र र जनताको आवाज घन्किनुपर्ने संसद्मा अलमलिएको छ, विधेयकहरु पास हुन सकेका छैनन्, संसद्मा लोकतन्त्रको अभ्यास हुन जरुरी छ ।'



  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार १७:१७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया