लोकमार्ग कालोपत्रपछि फेरियो दैनिकी, एक साताको यात्रा चार घण्टामा
फाइल तस्बिर

डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । 

सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर, अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ । सडक सञ्जालको पहुँच र लोकमार्ग कालोपत्र गरिएपछि हिजोआज यहाँका गाउँबाट बागलुङ बजार चार घण्टामै आउजाउ गर्न सकिन्छ । जिल्लाको सबैभन्दा टाढाका मानिने सीखोला गाउँपालिका ५ र ६ का वस्तीलाई अहिले सडकले नजिक बनाएको छ ।

पहिले निकै दुर्गम मानिने यस क्षेत्रको अहिले रूपै स्वरूप बदलिएको छ । स्थानीयको घरै अगाडिबाट दैनिक दर्जनौँ गाडी गुड्न थालेका छन् । लोकमार्ग बागलुङ हुँदै पूर्वी रुकुमसँग जोडिएपछि शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसीखोलामा अवसर र सम्भावनाका ढोका खुलेका छन् । 

लोकमार्ग वरपरका खाली जग्गामा धमाधम  भवन बन्न थालेका छन् भने व्यापार व्यवसाय पनि बढ्दै गएको छ । हजारौं नागरिकले बजारको सुविधा यही पाउन थालेका छन् । पहिले एक साता हिँडेर बागलुङ आएपछि बजार देखेका अहिले आफ्नै ठाउँमा बजार बसेपछि दङ्ग छन् ।

स्थानीय ७६ वर्षीय थमबहादुर पुन मगरले ३० वर्ष अगाडि आफू पहिलोपटक बागलुङ पुग्दा साढे छ दिन लागेको सुनाउँदै अहिले बिहान गएर साँझ घर आइपुग्ने वातावरण बनेको बताए । घर जग्गा किनबेच गर्दा र नागरिकता बनाउन बागलुङ पुग्दा झन्डै एक महिना बिताउनु परेको स्मरण गर्दै आजभोलि सबै काम बुर्तिवाङमा हुन थालेको उनले सुनाए । लोकमार्गले गाउँ नजोडिँदा दैनिक उपभोग्य सामान बुटवल, पाल्पालगायत स्थानबाट बोकेर उपभोग गरेको सुनाउँदै मगरले अहिले घर–घरमा पसल खुलेपछि निकै सहज भएको बताए ।  

‘विकास हुन धेरै समय लाग्दो रहेनछ, यहाँका कसैले पनि यो ठाउँमा सडक आउला र गाउँको मुहार फेरिएला भन्ने कल्पना गरेका थिएनन्, विकट ठाउँ हुँदा उही गोठालो गर्ने, खेतिपाती गरेर जीवन चलाउने गरिन्थ्यो, यस्तो मोटरबाटो थिएन’, पुन मगरले भने, ‘उतिबेला म बागलुङ बजार जाँदा धेरै दिन लागेको थियो, अहिले चार घण्टामै पुगिन्छ, म छक्क परेको छु । हामीभन्दा अगाडिका पुस्ताले यो सुविधा  पाएनन्, हामीहरूले बुढेसकालमा भए पनि हामीले पायौँ ।’ 



स्थानीय सुन्तली सुनारले लोकमार्गले गर्दा गाउँमा ठूलो परिवर्तन आएको बताइन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा कुनै पनि पक्की भवन नभएको भन्दै उनले अहिले धमाधम पक्की भवन, सडक र विद्यालय बन्न थालेको सुनाइन् । पाँच वर्ष अगाडिसम्म आफ्नो ठाउँमा कच्ची घर रहेकामा अहिले बजारबाट सिमेन्ट छडलगायत सामग्री सहजरूपमा ढुवानी गरेर पक्की भवन बन्न थालेका सुनारले बताइन् ।

‘लोकमार्गले यात्राका लाग समय कम लाग्ने मात्रै भएन, यसले हामीजस्ता विकट ठाउँका मान्छेको जीवनशैली नै बदलियो, सरसफाइदेखि लिएर स्वास्थ्य शिक्षामा हामी धेरै पछाडि थियौँ, तर अहिले धेरै सुधार भएको छ, बाहिरबाट मान्छे पनि आउँछन्, उनीहरूबाट नयाँ कुरा सिक्ने अवसर पनि मिलेको छ, गाउँका उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ,’ सुनारले भनिन् ।   



राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङको मालढुङ्गादेखि रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्नेसम्म जोडेको छ । करिब १ सय ४२ किलोमिटर बागलुङमा पर्ने लोकमार्गले जिल्लाका सुगमदेखि दुर्गमसम्मका दर्जनौँ गाउँलाई जोडेको छ । यो मार्ग कालोपत्र भएपछि निसीखोला क्षेत्रमा ठूलो परिवर्तन आएको छ । रासस 

  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार ७:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया