बढ्यो अलैँचीको मूल्य, कति होला भारत निर्यात ?
फाइल तस्बिर

पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ । 

ताप्लेजुङमा अहिले प्रति मन (४० किलो) ६९ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिए । उनका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार ७१ हजार रुपैयाँका दरले कारोबार भएको थियो ।

शुक्रबारदेखि अलैँचीको मूल्यमा उतारचढाव आइरहेको बरालको भनाइ थियो । मूल्यमा वृद्धि भएसँगै अलैँची किसान खुसी भएका छन् । पछिल्ला केही वर्ष न्यून मूल्यमा कारोबार गर्दै आएका किसानले यस वर्ष तुलनात्मक रुपमा केही बढी मूल्य पाएपछि खुसी भएका हुन् । 

“यस वर्ष उत्पादन केही घटे पनि मूल्य भने बढ्नले किसानलाई राहत पुगेको छ”, अलैँची किसान गणेश सिग्देलले भने, “अलैँचीको मूल्यमा सधैँ एकरुपता हुनुपर्ने हो । ठूलो परिमाणमा मूल्य घटबढ भइरहँदा किसान अलमलमा पर्ने गरेका छन् ।”

गत आर्थिक वर्षको अन्तिम समयमा प्रति मन ६० हजार रुपैयाँका दरले कारोबार भएको थियो । यस वर्ष सिजनको सुरुवाती समयमा झण्डै त्यही हाराहारीमा कारोबार भएको थियो । बर्खामा अत्यधिक पानी र हिउँदमा लामो समय खडेरी पर्नुका साथै रोगकीराका कारण अलैँची उत्पादन घटेको किसान रश्मी आचार्यले बताए । 

उनका अनुसार यहाँ उत्पादित अलैँची झापाको विर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ ।  





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १३:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया